पर्यटन व्यवसायमा कोरोनाको गम्भीर असरः बैंकको सवल कर्जा खराब बन्ने खतरा

पर्यटन व्यवसायमा कोरोनाको गम्भीर असरः बैंकको सवल कर्जा खराब बन्ने खतरा


बैंकिङ्ग समाचार ।

कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्र डामाडोल हुने संकेत देखिएपछि नेपाल राष्ट्र बैंकले थुप्रै बैंक तथा वित्तिय संस्थाहरुमा पनि खराब कर्जा बढ्ने आशंका देखिएको बताएको छ । नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले वर्तमान अवस्थामा कोरोना भाइरसका कारण पर्यटकहरुमा कमी आउनाले होटल व्यवसायहरु ठप्प हुने अवस्थामा पुगेको बताए ।

बैंकिङ समाचारसँग कुरा गर्दै उनले भने ‘ हामीले भ्रमण वर्ष २०२० पनि स्थगन गर्न बाध्य बन्यौं । यसले गर्दा पर्यटन व्यवसाय खस्किन गई व्यवसायबाट प्राप्त गर्ने राजस्व घट्न जान्छ । अझ गहिरिएर हेर्दा पर्यटन व्यवसाय खस्किँदा होटलहरुले लिएका कर्जा तिर्न सक्दैनन् । त्यसैले कर्जा विग्रेर खराब कर्जामा परिणत हुन सक्छ ।’

यस्तै उनले वैदेशिक व्यापारमा पनि कमि आउने अनुमान पनि लगाए। उनले भने, ‘आयात पनि घट्नु त एक तरिकारले हाम्रो लागि राम्रो कुरा हो । तर, हामीलाई वस्तुहरुको चरम अभाव हुन सक्छ । वस्तुहरुको अभाव हुँदै गर्दा मूल्यवृद्धिका समस्याहरु झन जटिल बन्न सक्छन् ।’

होटल व्यवसायीको १ १ खर्ब बढी ऋण डुब्ने खतरा 

कोरोना भाइरसले सबैभन्दा धेरै थिलथिलो बनेको क्षेत्र होटल क्षत्र हो । कोरोनाका कारणले निम्त्याएको आपत्तिलाई गम्भिर रुपमा लिएर सरकारले  व्यवसायीक संकटकाल घोषणा गर्नुपर्ने होटल व्यवसायीको माग छ । अधिकांश होटलहरु भाडाको घर र जग्गामा सञ्चालनमा रहेको भन्दै व्यवसाय ठप्प भएकाले भाडा तिर्न र कामदारलाई पारिश्रमिक दिनसमेत सक्ने अवस्थामा नरहेको होटल व्यवसायीहरु बताउँछन ।

सामान्य हिसावले तथ्याङकलाई केलाउँदा पनि नेपालका होटलहरु १ खर्ब बढी ऋणमा छन्  । तर पछिल्लो समय तथ्याङ हेर्दा उनीहरुको अकुपेन्सी रेट १० प्रतिशत मात्रै रहेको  होटल संघ नेपाल (हान) बताउँछ । उसका अनुसार यतीबेला  व्यवसायीले उच्च नाफा आर्जन गर्नुपर्नेमा  मासिक घाटा नै १ अर्ब ८० करोड छ ।