कोरोनाका कारण बैंकहरु आत्तिहाल्नुपर्ने अवस्था छैनः अर्थमन्त्री खतिवडा 

कोरोनाका कारण बैंकहरु आत्तिहाल्नुपर्ने अवस्था छैनः अर्थमन्त्री खतिवडा 


बैंकिङ्ग समाचार  । 

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस आए पनि अहिले नै आत्तिहाल्नु नपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाली अर्थतन्त्रमा कोरोना प्रभावको बिषयमा बोल्दै अर्थमन्त्री खतिवडाले  जोखिमलाई अधिक मूल्यांकन गर्न अहिले नमिल्ने बताए । 

कोरोनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पार्ने असर फरक–फरक भएको बताउँदै अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको कारणले व्यापार, लगानी श्रम, पर्यटन र  पूँजी प्रवाहमा कुनै न कुनै ढंगले असर पारिरहेको बताए। उनले भने, ‘ हालसम्मको स्थिति हेर्दा अर्थतन्त्र र ब्यापारलाई ठुलो असर परेको छैन । पछिल्लो फागुन मसान्तसम्मको अवधिलाई नियाल्दा व्यापारको स्थिति अघिल्ला ६ ७  महिनामा जे थियो अहिले पनि त्यही छ ।’

उनले औषत व्यापार ८ प्रतिशत, ५ प्रतिशत र ३ प्रतिशतले घट्दै आइरहेको प्रष्ट्याउँदै आयात प्रतिस्थापन तथा अन्य कतिपय वस्तुको आयातमा निरुत्साहित गरेकाले पनि आयात घटेको  बताए । फागुन महिनामा आयात  दुर्इ वा तीन प्रतिशतले  घटे पनि निर्यात चाहीँ करिव २३ प्रतिशतले घटेको तथ्याङ रहेको उनले बताए । 

अर्थमन्त्री खतिवडाले बैंकहरुको अवस्थाबारे तत्कालै चिन्ता लिन नपर्ने बताउँदै पर्यटन लगायतका उत्पानमुलक क्षेत्रमा बैंकहरुको लगानी २० प्रतिशतको हाराहारी भएको र त्यसमापनि ठुलो अंश कृषि र बिद्युतमा भएकाले पोर्टफोलियोको हिसाबले पर्यटनमा लगानी ७ प्रतिशत हाराहारी भएकाले एनपीएल तत्काल नबढ्ने उनले बताए। कोरोनाका कारण पर्यटन क्षेत्र लगायतका क्षेत्रमा गरिएको लगानीमा रि सेड्युल गर्नुपर्ने लगयतका अप्ठ्यारा देखिएपनि खराब कर्जा धेरैले नबढ्ने उनले बताए।