शेयर बजारको कारेबार समय एक घण्टा थप, लगानीकर्ताको माग पुरा 

शेयर बजारको कारेबार समय एक घण्टा थप, लगानीकर्ताको माग पुरा 


बैकिङ्ग समाचार । 

सेयर बजारको कारोबार समय एक घण्टा थपिने भएको छ ।   

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कारोबार थप्ने विषयमा भइरहेको तयारी पूरा भएको र आइतबारदेखि सेयर कारोबारको समय एकघण्टा थपेर ५ घण्टा बनाइने बताएका हुन् । उनका अनुसार आइतबारदेखि बिहान १०ः३० बजे कारोबार सुरु भई बेलुका ३ः३० मा कारोबार बन्द हुनेछ । 

हाल दोश्रो बजारमा सेयरको कारोबार अवधि प्रत्येक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि कारोबार खुलेर दिउँसो ३ बजे बन्द हुने गरेको छ । यसरी हाल ४ घण्टामा सीमित कारोबार अवधि एकघण्टा बढेर अब ५ घण्टा हुनेछ । 

धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएलगत्तै नेप्सेको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्ने क्रममा ढुंगानाले नेपालको दोश्रो बजारमा सेयर कारोबार गर्ने समय कम भएको भन्दै अवधि थप्नुपर्ने बताएका थिए । उनको सोही प्रतिबद्धता कार्यान्वयन हुन लागेको हो । 

दोश्रो बजारको कारोबार समय थपिएपछि बजारको विकास र विस्तारमा थप टेवा पुग्ने बोर्डको विश्वास छ ।  लगानीकर्ताले समेत विगत लामो समयदेखि कारोबार अवधि कम भएको भन्दै यसमा समय थप्नुपर्ने माग उठाउँदै आएका थिए । 

कारोबार एकघण्टा थप्ने विषयमा बोर्डले अध्ययन गरेर बताउन भनी नेप्सेलाई निर्देशन दिएको थियो । नेप्सेले समेत सकारात्मक प्रतिक्रिया दिएपछि अवधि बढाउने निश्चित भएको हो ।