कोरोना नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई साढे ३ अर्ब सहयोग

कोरोना नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई साढे ३ अर्ब सहयोग


बैंकिङ्ग समाचार । 

विश्वभर फैलिएको महामारी कोराना भाइरस (कोभिड १९) सँग लड्न विश्व बैंकले नेपाललाई २९ मिलियन अमेरिकन डलर अनुदान सहयोग गरेको छ । विश्व बैंक र अर्थ मन्त्रालयबीच उक्त सहयोग आदानप्रदान गर्ने सम्बन्धमा मंगलबार हस्ताक्षर भएको हो।

बुधबारको विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँ ३ अर्ब ४३ करोड हुन आउँछ।

विश्व बैंकले एक हप्ताअघि विश्वको एक सयभन्दा बढी देशमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि अनुदान र ऋण सहयोगमा १२ बिलियन अर्ब डलर खर्च गर्ने निर्णय गरेको थियो। सोही अनुसार नेपाललाई २९ मिलियन डलर अनुदान सहयोग गर्ने सम्झौता भएको हो।

विश्वका १०० बढी देशमा फैलिएको यो महामारीबाट ठूला अर्थतन्त्र भएका देशसहित कमजोर अर्थतन्त्र भएको मुलुकलाई अझ बढी प्रभाव पर्ने आंकलन हुँदै आइरहेको छ।

उता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले समेत कोरोनासँग लड्नका लागि कमजोर अर्थतन्त्र भएको ऋण लिने देशहरुलाई ब्याजदरमा सहुलियत दिने घोषणा गरेको छ। न्यून तथा मध्यम आय भएका मुलुकलाई सहयोग प्रदान गर्ने बताइएपनि यद्यपी यस्तो सहयोग कुन देशलाई कति सहयोग गर्ने भन्ने निर्णय भने भैसकेको छैन।