कृषि क्षेत्रमा लगानी गर्न बैंकहरु डराए, सधैं खराब कर्जाकै डर 

कृषि क्षेत्रमा लगानी गर्न बैंकहरु डराए, सधैं खराब कर्जाकै डर 


बैंकिङ्ग समाचार । 

पछिल्लो समय २७ प्रतिशित उत्पदान कृषि क्षेत्रबाट रहेको अवस्थामा बैंक तथा वित्तिय संस्थाको लगानी न्युन छ । चालु आर्थिका वर्षको ६ महिनामा वाणिज्य बैंकले ९.६ प्रतिशत मात्र कर्जा लगानी गरेका छन् । 

नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रका लागि अनिवार्य १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेपनि वित्त संस्थाले यसलार्इ पालन नगरेको पाइएको छ । 

यस्तै कृषि ऋणका लागि बैंकमा पुगेका कृषकलाई धितो लिएर ऋण दिनसम्म झन्झट दिने गरेको किसानहरुले बताउँदै आएका छन् । बैंकहरुलाई सधैं खराब कर्जा बढ्ने डर हुने गरेको किसानहरुको आरोप छ ।  यद्यपी कृषिमा विचौलिया हाबी हुँदै गएका, समाजमा किसानको अवस्थामा सुधार र बजारको सुनिश्चितता नदेखिएकाले लगानी डुब्ने चिन्ता स्वभाविक भए पनि राम्रो योजना लिएर आउने किसानलाई लगानी गर्दै आएको बैंकरहरुले दाबी गरेका छन् । 

चालू आर्थिक वर्षको ६ महिनामा कृषि क्षेत्रको लगानी ९.६ प्रतिशतमा सीमित भए पनि बैंक तथा वित्तीय संस्थाले सो अवधिमा आवधिक कर्जा १५.०८, ओभरड्राफ्ट ५।०४, आयात कर्जा २.४, डिमान्ड तथा चालू पूँजी कर्जा १०.०१, रियल स्टेट कर्जा ८ प्रतिशत, हायर पर्चेज १।१ प्रतिशत पुर्याएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको माद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत लघुवित्त वित्तीय संस्थाले आफ्नो कूल कर्जाको एक तिहाइ अनिवार्य कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ। २०७६ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले आफ्नो कूल कर्जाको ४१ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेको बताए पनि उत्पादन भने उत्साहप्रद पाइँदैन ।

बैंक तथा वित्तीय संस्थाको २०७६ पुस मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६४ दशमलव शून्य ९ प्रतिशत घरजग्गा धितोमा र १३ दशमलव शून्य पाँच प्रतिशत कृषि तथा गैर कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ। २०७६ पुस मसान्तसम्म कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २० हजार ७९१ ऋणीको ४५ अर्ब आठ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ। त्यसैगरी सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत तीन हजार १८७ ऋणीको एक अर्ब ९३ करोड कर्जा बक्यौता रहेको अर्धबार्षिक समिक्षामा उल्लेख छ।