भारतीय यस बैंकका संस्थापक राना कपुर पक्राउ 

भारतीय यस बैंकका संस्थापक राना कपुर पक्राउ 


बैंकिङ्ग समाचार । 
भारतको समस्याग्रस्त घोषणा गरिएको ‘यस बैंक’ का संस्थापक राना कपुर आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ परेका छन । 

भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका थिए ।

जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंक सम्बन्धी अनुसन्धानमा असयोग गरेपछि पक्राउ गरिएको हो । अधिकारीहरुले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेको थियो । यस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टी गरेको छ ।

भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ । 

भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । पछिल्ला दिनहरुमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि सङ्कट आएको थियो ।

भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकहरुमा निराशा छाएको छ । मानिसहरु यस बैंकका एटिएम र शाखाहरुमा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए ।

रिजर्भ बैंकको उद्धार योजना बमोजिम भारतीय स्टेट बैंक (एसबिआई) ले समस्याग्रस्त ‘यस बैंक’ को ४९ प्रतिशत शेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । एसबिआईका अध्यक्ष रजनिश कुमारले ‘यस बैंक’ मा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुचि देखाइसकेको पनि जानकारी दिए ।

यस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पूँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाई छ । यस बैंकका एक हजारभन्दा बढी शाखा र एक हजार ८०० भन्दा बढी एटिएम छन् ।