ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड दुई लाख राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड दुई लाख राजस्व सङ्कलन


वीरगञ्ज – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड दुई लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन् ।

गत आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको थियो ।

यो अघिल्लो आव २०७८/०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । अघिल्लो आव २०७८/७९ मा सो कार्यालयले दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।

ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। (रासस)