किसान लघुवित्तद्वारा नेप्सेलाई स्पष्टिकरण : राष्ट्र बैंकको निर्देशनमा हकप्रदको प्रस्ताव हटाएको

किसान लघुवित्तद्वारा नेप्सेलाई स्पष्टिकरण : राष्ट्र बैंकको निर्देशनमा हकप्रदको प्रस्ताव हटाएको


बैकिङ्ग समाचार ।

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण पठाएको छ । नेप्सेले चैत १० गते कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण पठाउन माग गरेको थियो । 

कम्पनीले चैत ८ गते आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित साधारण सभा आव्हान गरेकोमा सोमवार उक्त प्रस्ताव हटाई पुनः सूचना प्रकाशन गरेको थियो । 

नेप्सेले उक्त विषयका कारण आइतवार र सोमवार कम्पनीको शेयरमूल्यमा असर परेको भन्दै मंगलवारदेखि नै कारोबार रोक्का गरेको छ । शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव प्रथम पटकको सूचनामा सार्वजनिक गरेको र दोस्रो पटक हटाएको सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको थियो । कम्पनीले शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव गर्दै आइतवार प्रकाशित सूचनामा अन्यथा भएको भन्दै सोमवार दोस्रो सूचना सार्वजनिक गरेको थियो । 

कम्पनीले चैत १२ गते नेप्सेमा स्पष्टिकरण पेश गर्दै कम्पनीको सञ्चालक समितिले पूँजी वृद्धिका लागि तय गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव नेपाल राष्ट्र बैंकको निर्देशनका कारण हटाउनु परेको स्पष्ट पारेको छ । कम्पनीको सञ्चालक समितिको चैत ६ गते साझ भर्चुअल माध्यमबाट बसेको बैठकले दोस्रो वार्षिक साधारण सभाको मिति, स्थान, समय र छलफलका विषयहरु तय गर्दै पूँजीकोष वृद्धिका लागि मर्जर, हकप्रद शेयर, पुनः शेयर निष्कासन जस्ता कुराहरु छलफल भएको कम्पनीको स्पष्टिकरणमा उल्लेख छ । 

सञ्चालक समितिले साधारण सभामा लिने प्रस्तावहरु मध्ये हकप्रद शेयरको प्रस्ताव सम्बन्धित निकायसँग परामर्स गरेर मात्र अघि बढ्ने निर्णय गरेको र भोलीपल्ट बिदा परेकाले मरामर्स लिन नसकिएको समेत कम्पनीले प्रष्ट पारेको छ । प्रचलित कम्पनी ऐनमा भएको व्यवस्था अनुसार साधारण सभा हुनुभन्दा कम्तिमा २१ दिन अगाबै साधारण सभा सम्बन्धि सूचना निकाल्नुपर्ने भएकोले परामर्स अगाबै हकप्रद शेयर सहितको साधारण सभाको सूचना प्रकासित भएको कम्पनीको भनाइ छ । 

आइतवार नेपाल राष्ट्र बैंकसँग परामर्स गर्दा उक्त प्रस्ताव हटाउन सुझाव आएकाले त्यसलाई संशोधन गरी चैत ९ गते दोस्रो पटक साधारण सभाको सूचना प्रकासित गरेको कम्पनीले प्रष्ट पारेको छ । सोही दिनको सूचनानै आधिकारिक भएको पनि कम्पनीको भनाइ छ ।