सहकारीको रकम हिनामिना अभियोगमा नगर प्रमुखविरुद्ध रेड कर्नर नोटिस


काठमाडौं – सहकारीकाे बचत हिनामिना गरेको अभियोगमा फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । नेपालीमाथि इमेज सहकारीका बचतकर्ताको एक अर्ब ६० करोड र विभिन्न बैंकहरूको ३५ करोड गरी दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले, प्रहरीको अन्तर्राष्ट्रिय फौजदारी सङ्गठन (इन्टरपोल) लाई आग्रह गरेपछि इन्टरपोलले रेड कर्नर नोटिस निकालेको हो ।

नेपालीको समूहले पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी इमेज बचत तथा ऋण सहकारी खोली बचत हिनामिना गरेको आरोप छ । नेपाली गत वैशाखदेखि सम्पर्कबिहीन छन् ।