त्रिपुरेश्वरमा बसभित्र आत्मदाह प्रयासबारे छानबिन गर्न समिति गठन


काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी घटनाबारे नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ। घटना कसरी भयो, घटनामा कसको संलग्नता थियो र दोषी को–को हुन् भन्ने विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले जानकारी दिए।

उनका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिले बसभित्र आत्मदाहको प्रयास भनिएको घटनाको कारण तथा घटनामा संलग्न व्यक्तिहरूबारे समेत अनुसन्धान गर्नेछ।

आगलागीका क्रममा बसका चालक घाइते भएका छन्। आगलागी हुँदा बसभित्र रहेका २५ वर्षीय चालक दावा लामा घाइते भएका हुन्। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ। प्रहरीका अनुसार आगलागी भएका बेला बसमा अन्य यात्रु भने थिएनन्।