बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेकोे छ । आज नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा थामिएको छ ।
नेप्सेसका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् ।
बजार घटेपनि पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, हिमालय उर्जा विकास कम्पनी र युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी पाँच कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
बजार घटेपनि आधिकांश जलविद्युत कम्पनीको शेयर मूल्य बढेको छ । कम्पनीहरुको शेयर मूल्य बढेसँगै यस समूहको परिसूचक १ दशमलव ८ प्रतिशत वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नितीको अर्धवार्षिक समिक्ष मार्फत १० मेगावटभन्दा कम क्षमता भएका जलविद्युत् कम्पनीहरुलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो ।
जसलेगर्दा जलविद्युत् कम्पनीमा लगानीकर्ताको आर्कषण बढेको देखिन्छ । कतिपय जलविद्युत् कम्पनीले बोनस शेयर वितरण गर्ने प्रस्ताव र हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएसँगै जलविद्युत् कम्पनीहरुको शेयर मूल्य बढेको हो ।
नेपाल हाइड्रो डेभलोपर कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेसँगै शेयर मूल्य बढेको हो भने अरुण भ्याली हाइड्रो पावर कम्पनीले १ः शून्य दशमलव ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्र्र्र्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै शेयर मूल्य बढेको हो ।
प्रतिक्रिया