१ कित्ता भन्दा कम सेयर किनबेच गर्न मिल्ने व्यवस्था

१ कित्ता भन्दा कम सेयर किनबेच गर्न मिल्ने व्यवस्था


आम सर्वसाधारणसम्म सेयरमा पहुँच पुर्‍याउने १० कित्ते सेयर नीति पुनरावलोकनकाे तयारी गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रवीणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेकाे छ। तर विश्व बजारमा भने १० कित्ता हाेइन, १ कित्ता भन्दा पनि कम सेयर किनबेच गर्न मिल्ने व्यवस्था छ। अन्तर्राष्ट्रिय बजारमा सानो लगानी प्रोत्सान गर्ने विधि र पद्धतिको विकास भइरहँदा नेपालमा ठूला लगानीकर्ताकाे स्वार्थमा साना लगानीकर्ता लखेट्न खाेजिँदैछ।

फ्र्याक्सनल सेयर
अन्तर्राष्ट्रिय बजारमा लगानी क्षमतालाई ध्यानमा राखी एक कित्ता भन्दा पनि कममा अर्थात फ्रयाक्सनमा सेयर किनबेच गर्न सकिने व्यवस्था सुरु भइसकेको छ । आफूले चाहेको कम्पनीमा सकेको रकम लगानी गर्न सक्ने अवसर सेयर बजारले सिर्जना गर्दै फ्र्याक्सनमा सेयर किनबेच गर्न सकिने विधि वा पद्धति नै फ्रयाक्सनल सेयर हो ।

जस्तै ‘ए’ कम्पनीको आजको एक कित्ताको सेयर मूल्य १२ सय रूपैयाँ छ भने उक्त कम्पनीमा सेयर १ सय वा २ सय वा ३ सय रुपैयाँको मात्र किन्छु भन्ने अवधारणा यसकाे हाे । एक कित्ता पनि सेयर किन्न नसक्ने क्षमता भएका लगानीकर्ताहरुका लागि त्योभन्दा कममा पनि सेयर किन्न सक्नेगरी यस्ताे व्यवस्था गरिएको हुन्छ, जुन कति कित्ताभन्दा पनि कति रकमकाे सेयर खरिद गर्ने भन्ने अवधारणा हाे। यसलाई दशमलवमा सेयर किन्न सकिने व्यवस्था भन्दा पनि फरक पर्दैन । मुख्यतः फ्र्याक्सनल सेयर दशमलवमै हुन्छ । आधा कित्ता वा एक तिहाइ कित्ता सेयर किनबेच गर्न सकिने गज्जबको व्यवस्थाथाका रूपमा फ्र्याक्सनल सेयर कारोबारलाई बुझ्न सकिन्छ । यस्तो खालको सेयरले मानिसलाई राम्रा र मूल्यवान कम्पनीमा आफूले सके जति रकम लगानी गर्न प्रोत्साहन गरेको हुन्छ ।

यसले मानिसहरुको बचतलाई पनि प्रोत्सान गर्ने गर्दछ । न्यून आय भएका, जसले सेयर बजारमा ठूला कम्पनीहरूको सेयर किनबेच गर्न चाहन्छ उसलाई पनि दीर्घकालिन लगानीका लागि प्रोत्साहन गर्दछ ।

कहिलेदेखि सुरु भयो फ्र्याक्सनल सेयर कारोबार ?
सन् २०१९ नोभेम्बरमा इन्टेर्याटिभ ब्रोकर्स नामको एक अनलाइन सेयर किनबेच प्ल्याटफर्म कम्पनीबाट फ्र्याक्सनल सेयर कारोबार सुरु भएको अन्तराष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् । सन् २०२० को जनावरीमा फिडिलिटी नामको एक ब्रोकर कम्पनीले फ्र्याक्सन सेयरमा इक्विटीहरूको कारोबारमा विभिन्न अफरहरू पनि सार्वजनिक गरेको बताइन्छ । यद्यपि, सन् २०१९ नोभेम्बरमा अमेरिकी स्टक मार्केटका केही ब्रोकरहरु जस्तै NySE, AMEX, NASDAQ, ARCA लगायतले यस्तो खालको कारोबार सुरु गरेको बताइन्छ ।

के–के छन् फ्र्याक्सनल सेयरका फाइदाहरू ?
१ महँगा र ठूला स्टकहरूमा पहुँच
बजारमा केही सेयरहरु यस्ता पनि हुन्छन जसको मूल्य उच्च हुन्छ । ठूलो पुँजीको आवश्यकता पर्ने हुँदा यस्ता सेयर आम सर्वसाधरणहरूले कारोबार गर्न सक्दैनन् । त्यसैले बजारमा सुनिने ‘ब्लु–चिप’ सेयरसम्मको पहुँच पुर्याउन फ्र्याक्सनल सेयरले मद्दत गर्दछ । अर्थात् ठूला कम्पनीको फ्र्याक्सनल सेयर आफूसँग उपलब्ध पुँजीबाट खरिद गर्न सकिन्छ । जसले साना लगानीकर्ताहरूको पहुँच ठूला र महँगा स्टकहरूसम्म पुग्छ ।

बचत र लगानी गर्ने बानीको विकास हुन्छ
सर्वसाधारणलाई बचत र लगानी गर्न यसले प्रोत्साहन गर्दछ । यसका कारण भर्खरै सेयर बजारमा लागेका नयाँ लगानीकर्ताहको लागि पैसा बचत गर्ने बानीको विकास हुन्छ । पैसा बचत गरी छिट्टै लगानी सुरु गर्नाले छोटो समयमै सम्पतिको जोहो गर्न सकिन्छ भन्ने कुरालाई फ्र्याक्सनल सेयरले आत्मसाथ गर्दछ । यसले बचत, बैंक खाता, लगानी, सेयर बजार, सेयर मूल्य, कम्पनी, कम्पनीले दिने नाफा, सेयर किनबेच र त्यसको प्रक्रिया र व्यवहारिक बित्तीय ज्ञान प्रदान गर्नको लागि सहयोग गर्दछ ।

पोर्टफोलियो विस्तारमा सहयोगी भूमिका
बचत लगानीको एक महत्वपूर्ण माध्यम हो । लगानीको सिद्धान्त अनुसार एउटै कम्पनी र एउटै क्षेत्रमा आफ्नो सम्पूर्ण पुँजी निवेश गर्नु हुँदैन । त्यसैले आफ्नो पोर्टफोलियोलाई विविधिकरण गर्दै लगानीको क्षेत्र र दायरालाई विस्तार गर्नुपर्छ ।

बेफाइदा के छन्?
सीमित कम्पनी मात्रै छनोट गर्न मिल्ने
फ्र्याक्सन सेयर कारोबारको लागि स्टक एक्सचेन्जमा रजिस्टर भएका सबै कम्पनीहरु उपलब्ध हुँदैनन् । त्यसैले लगानीकर्ताहरू फ्रयाक्सन सेयरमार्फत सिमित कम्पनीहरुमा मात्रै लगानी गर्न सक्दछन् । त्यसैले यस्तो सेयर कारोबार गर्दा आफूले चाहेअनुरुपको कम्पनीमा लगानी गर्न नमिल्न पनि सक्छ ।

तरलता समस्या उत्पन्न हुनसक्छ
अन्य सेयर कारोबार जस्तै फ्र्याक्सन सेयर कारोबार ब्रोकर कम्पनीहरूबाटै गरिन्छ । धेरैजसो ब्रोकर कम्पनीहरु फ्र्याक्सन सेयरहरु होल्ड गरेर राखेका हुन्छन् । त्यसले गर्दा कहिलेकाहीँ यस्ता सेयर तत्काल किनबेच गर्न नमिल्ने अवस्था आउँछ । बजारमा फ्रयाक्सन सेयरको माग कम हुँदा यसले लामो समय अवधि लिन सक्छ । एउटै फ्र्याक्सन सेयर लामो समयसम्म बजारमा होल्ड हुँदा तरलता समस्या उत्पन्न हुन सक्दछ ।

सेयरहोल्डरको मत अधिकारबाट बञ्चित हुनसक्ने
केही ब्रोकर कम्पनीहरुको अध्ययन प्रतिवेदन अनुसार यदि कोही व्यक्तीसँग कम्तीमा एक कित्ता सेयर छ भने त्यस कम्पनीको सेयर होल्डरको रुपमा मतदान अधिकार प्रयोग गर्न मिल्छ । तर एक कित्ता भन्दा कम अर्थात दशमलवमा शेयर हिस्सा छ भने उक्त व्यक्तीले सेयर होल्डरको रुपमा मत दिन मिल्दैन ।

सेयर ट्रान्सफरमा समस्या
केही अन्तराष्ट्रिय प्रावधान अनुसार यदी कोही व्यक्तीसँग फ्रयाक्सन सेयर छ भने उक्त व्यक्तिको सेयर एउटा ब्रोकरबाट अर्को ब्रोकर कम्पनीमा ट्रान्सफर गर्न मिल्दैन । यसको सट्टा, ब्रोकर कम्पनीहरूले कित्तामा भएको शेयर ट्रान्सफर गर्दछन् र नगद प्रदान गर्नको लागि फ्र्याक्सन भएका सेयर बेच्दछन् ।

फ्र्याक्सन आउने गरि लाभांश घोषणा गर्दा समस्या
समय समयमा कम्पनीहरुले लाभांश घोषणा गर्दा बोनस सेयर बापत लाग्ने कर प्रयोजनको रकम नछुट्याइदिँदा समस्या आउने गर्छ । तर आजभोलि कम्पनीहरूले फ्र्याक्सनमा आउने गरि बोनस सेयर घोषणा गरिदिँदा त्यसबाट लगानीकर्ता झनै मारमा परेका छन । कम्पनीहरुले नियोजित रुपमा नै यस्तो निर्णय गर्ने लगानीकर्ताको आरोप पनि छ । फ्र्याक्सन आउने गरी बोनस सेयर वितरण गर्दा त्यस्तो टुक्रा सेयरलाई लगानीकर्ताले वास्ता नगर्ने र पछि सोही सेयरलाई अक्सनमा राखेर कमाउने कम्पनीहरुको यो नियोजित रणनीति हुनसक्ने विज्ञहरुले औँल्याएका छन् ।

कसरी हुन्छ फ्र्याक्सनल सेयर कारोबार ?
फ्र्याक्सन सेयर किनबेच गर्ने तरिका अन्य सेयरहरू जस्तै ब्रोकर कम्पनीमार्फत् नै हुन्छ । जबसम्म कम्पनीको पूर्ण सेयर अर्थात् कित्तामा रहेको सेयर प्राप्त हुँदैन फ्रयाक्सन सेयरहरुलाई ब्रोकर कम्पनीले होल्ड गर्दै राखेको हुन्छ । तर बजारमा सेयर विक्री गर्नेको माग नै नभएको अवस्थामा फ्रयाक्सन सेयर पनि बिक्री गर्न गाह्रो हुन्छ । एक अन्तर्राष्ट्रिय समाचारमाध्यमा प्रकाशित लेखमा समावेश भएअनुसार सबैजना फ्र्याक्सन सेयर खरिद गर्न चाहँदैनन् । तर कहिलेकाँही कम्पनीले सेयर ‘स्पीलिट’ गर्दा आफ्नो सेयर कारोबार दशमलवमा परिणत हुन सक्दछ ।

त्यस्तो अवस्थामा आफ्नो कारोबारलाई बिना दशमलवमा समायोजन गर्नको लागि लगानीकर्ताहरुले फ्रयाक्सन सेयर खरिद गर्न सक्दछन। जस्तै उदाहरणको लागि कुनै एक लगानीकर्तासँग ‘ए’ कम्पनीको २२५ कित्ता सेयर छ । त्यसको बजार मुल्य एक कित्ताको ११२ रुपैँया छ । तर उक्त कम्पनीले स्टक ‘स्पीलिट’ गर्दा उक्त लगानीकर्ताको सेयर ३३७ दशमलव ५ कित्ता पुग्यो भने त्यस्तो अवस्थामा पछाडीको दशमलव समायोजन गर्नको लागि अर्थात ३३७ दशमलव ५ कित्तालाई ३३८ कित्तामा समायोजन गर्नका लागि लगानीकर्ताले फ्रयाक्सन सेयर खरिद गर्न सक्दछ । त्यती मात्रै नभई उक्त लगानीकर्ताले पछाडिको दशमलवमा रहेको सेयर बेचेर ३३७ मात्रै बनाउन पनि सक्दछ । अन्तराष्ट्रिय बजारमा यस्तो खालको कारोबार सुरु भइसकेको छ ।