Investment Talk

‘मर्चेन्ट बैंकिङ्ग क्षेत्रको विस्तार सुस्त, तर हामी सही ट्रयाकमा छौं’

‘मर्चेन्ट बैंकिङ्ग क्षेत्रको विस्तार सुस्त, तर हामी सही ट्रयाकमा छौं’


मर्चेन्ट बैंकिङ्गका सेवा तथा कार्यहरु पुरानै भएपनि नेपालको हकमा इन्भेष्टमेन्ट बैंकिङ्ग उदाउँदो चरणमा रहेको छ । ‘कर्पोरेट एडभाईजरी’ लगायतका इन्भेष्टमेन्ट बैंकिङ्गका सेवा अहिले बल्ल बुझ्दै बुझाउँदै अगाडी लैजानु पर्ने अवस्था छ । बैंकिङ्ग प्रणाली र पद्धती भन्दा माथि उठेर हेर्ने हो भने नेपालमा उदाइरहेको इन्भेष्टमेन्ट बैंकिङ्ग र मर्चेन्ट बैंकिङ्ग कान्छो नै छ । यसलाई सवल बनाउँदै धेरै अगाडी लैजानु पर्ने आजको चुनौती हो । यसका साथै धेरै ठुला अवसरहरु पनि यस क्षेत्रमा छन । हाम्रो जस्तो पुँजीको अभाव हुने मुलुकको लागि विकासका कामहरुलाई अगाडी बढाउनको लागि पुँजी र्निमाणको बलियो स्रोतको रुपमा मर्चेन्ट बैंकिङ्गले विशेष महत्व राख्दछ । यस क्षेत्रको विकासका लागी राज्यका निकायहरुसँग समन्वय गर्दै अगाडी जानुपर्ने समग्र मर्चेन्ट बैंकिङ्गको लागि आफैमा चुनौतीपूर्ण छ । यस्तै चुनौती र अवसहरुका विषयहरुलाई ध्यानकेन्द्रीत गर्दै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलसँग बैंकिङ्ग समाचारको लागि मनोज रेग्मीले गरेको कुराकानीः

भिडियो


नजिकबाट मर्चेन्ट बैंकिङ्गलाई नियाल्दा कस्तो पाउनुहुन्छ ?
मर्चेन्ट बैंकिङ्ग अहिले नेपालमा ३०/३२ को हारहारिमा छन । यसको दायरा अहिले विस्तारकै क्रममा छ । आफ्नो अनुभव बटुल्दै र आफ्नो क्षेमता अभिवृद्धि गर्दै मर्चेन्ट बैंकिङ्गले इन्भेष्टमेन्ट बैंकिङ्गको पाटोलाई पनि आत्मसाथ गर्दै अगाडी बढिरहेको छ । नेपालको अर्थतन्त्रको लागि यो अत्यन्तै राम्रो कुरा हो । अझ हालसालै चालिएको पिइभिसिको क्षेत्र पनि असाध्यै राम्रो मानिएको छ । नेपालमा स्टार्टअपको लागि उपयुक्त फाइनान्सिङ्ग गर्नको लागि बनाइएको यो नविनतम सोचले नेपालमा व्यवसायिक वातावरण सिर्जना गर्न सहज हुने अपेक्षा गरिएको छ । हाल देखिएको मर्चेन्ट बैंकिङ्ग र त्यसमा सामावेश भएको पिइभिसी र इन्भेष्टमेन्टको पाटोलाई हेर्दा मर्चेन्ट बैंकिङ्गले लय समातेको छ ।

मर्चेन्ट बैंकिङ्गमा चुनौतीहरु पनि त होलान नि ?
चुनौतीहरु अवश्य पनि छन । पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीले गर्दा युवाहरुमा उद्यमी बन्ने मनोबलमा गिरावट आएको छ तर मर्चेन्ट बैंकिङ्ग र पुँजी बजारको भुमिकालाई हेर्दा उद्यमीहरु तयारी अवस्थामा रहँदा कुनै फरक पर्दैन । र आउँदा दिनहरुमा हामीले यो क्षेत्र धेरै नतिजामुखी देख्न सक्छौँ ।

बजारमा भएका म्युचुअल फण्डहरुबाट उल्लेखीय रिटर्न दखिएको छैन, तर मर्चेन्ट बैंकहरुले १४/१५ प्रतिशतको औषत प्रतिफल छ भनिरहेका छन ? के यो साँचो हो ?
इन्भेष्टमेन्ट बैंकिङ्गको महत्वपूर्ण पाटोबाट हेर्दा मर्चेन्ट बैंकिङ्गले दिर्घकालिन पुँजी निमार्ण म्युचुअल फण्डमार्फत गरिहेका छन । हाल १० देखि १२ वर्षसम्मका दिर्घकालिन पुँजी निमार्णका स्रोतहरु सामुहिक लगानी कोषमार्फत पैदा भइरहेका छन । तर म्युचुअल फण्डको लगानीको पक्षलाई हेर्दा अहिले बजारमा ठुला पूर्वाधार तथा परियोजनाहरुमा पनि म्युचुअल फण्डबाट लगानी गर्न सक्नेगरी काम भइरहेको छ । म्युचुल फण्डबाट उठिरहेको दिर्घकालिन पुँजीलाई ठुला परियोजनाहरुमा लगानी गर्ने वातावरण अझैपनि अन्वेषण गरिएको छैन । अहिलेका लागि जतिपनि लगानीका क्षेत्रहरु तोकिएका छन, त्यसमा रहेर आफुले कमाउँदै लगानीकर्ताहरुलाई त्यसको प्रतिफल वितरण गर्दै गईरहेका छन । तर म्युचुअल फण्डको मुख्य उदेश्य पूर्वाधार क्षेत्र, पूर्वाधार तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नै हो । त्यसैले यो उपकरण लगानीको वातावरण सिर्जना गर्न र उद्यमीहरुलाई सघाउन अत्यन्तै राम्रो मानिएको छ ।

एसआईपी पनि म्युचुअल फण्डकै प्रोडक्ट मानिन्छ । तर यती वर्षमा यती प्रतिफल भनेर भनिएको छ । प्रतिफलको ग्यारेन्टी चाहीँ कसरी कसरी गर्ने ?
एसआईपी खुल्लामुखी सामुहिक लगानीे कोषको प्रोडक्ट हो । यसमा खुल्लामुखीको केही युनिट बजारबाट खरिद गर्ने र बैंकमा राखिएको बचत जसरी आफुले चाहेअनुसार परिचालन गरिएको हुन्छ । यसमा लगानीकर्ताहरुसँग दुईवटा अप्सन हुन्छ । एउटा लगानीकर्ताहरुले कमाएको र गर्न चाहेको बचत बैंकिङ्ग क्षेत्रमा लगानी गर्ने । अर्को भनेको आफ्नो बचतलाई पुँजी बजारमा लगाउने । अब प्रतिफलको आशा चाहीँ कति गर्ने भन्ने लगानीकर्ताहरुसँग फरक च्वाइस हुन्छ । त्यसकारण एसआईपीमा आफुले चाहेको प्रतिफल कति हो र त्यसको समयको अवधी कती राख्ने आफैले छनौट गर्दै नियमित बचत गर्न मिल्नेगरी व्यवस्था गरिएको हुन्छ ।

त्यसो भए म्युचुअल फण्डको बन्दमुखी योजना राम्रो कि खुल्लामुखी ?
बन्दमुखी योजनाहरुको न्याभ(नेट एसेट भ्यालु) हप्तामा हेरिन्छ भने खुल्लामुखी योजनाको प्रतेक दिन हेर्न मिल्छ । त्यसैले म त भन्छु म्याचुरिटी भएकोमा केही समय होल्ड गर्ने नत्र पूँजी बजारको दोस्रो हेर्ने तर खुल्लामुखी योजनामा भने दोस्रो बजार नहेरी आफ्नो भ्यालु लिन सकिन्छ । त्यसकारण तरलताका हिसाबले पनि खुल्लामुखी योजना चाहीँ अलिक सजिलो हो कि जस्तो लाग्छ ।

ठुला परियोजना र पूर्वाधार बनाउन नेपालमा अझै पुँजीको अभाव भनिन्छ ? के साँचै नेपालमा पुँजीको अभाव भएकै हो ?
तपाईले भनेजस्तै गरी हाम्रो देशमा पुँजीको अभाव भने छ । किनभने भर्खरै हामीलाई जानकारी भयो कि १० वर्षमा हामीले १० हजार मेगावाट विद्युत भारततर्फ निर्यात गर्ने योजना छ । अहिले ३ हजार उत्पादन भइसकेको छ भने बाँकी ३ हजार नीजी क्षेत्रको लगानीमा निमार्णको चरणमा छ । तर १० हजार मेगावाट उत्पादन गर्दा औसतमा पनि प्रति मेगावाट २२ करोड रुपैँया राख्दा पनि २२ खर्ब रकम खर्च गर्नुपर्ने हुन्छ । २२ खर्ब पैसा पूर्वाधार क्षेत्रमा खर्च गर्नको लागि कसरी लगानीको स्रोत जुटाउने । यो चुनौतीको विषय हो । त्यसैले हामी पुँजीको आवश्यकतामा चाहीँ छौँ । हुन त हामीसँग समय १० वर्ष छ, वर्षमा २ देखि ३ वटा प्रोजेक्ट सञ्चालन भएपनि १० वर्षमा हामी ३ वटा साइकल पुरा गर्न सकौंला । तर पूर्वाधार तथा ठुला परियोजनामा दिर्घकालिन लगानीको लागि पुजीँको आवश्यकता भने छ ।

जस्तोसुकै कम्पनीको पनि आईपीओ बजारमा आईरहेको छ । ठ्याक्कै भन्दा यो सफल नियमनको उदाहरण हो की चुनौतीको विषय हो ?
यो ठुलो सफलता हो । नेपालजस्तो विकासोन्मुख मुलुकमा सर्वसाधारणबाट पुँजी जुटाएर ठुला पूर्वाधारहरुमा लगाउनुपर्ने भयो भन्दा आजको दिनमा जुनसुकै आईपीओ आउँदा पनि आम सर्वसाधरणले पुँजीको कमी हुन दिएका छैनन । आईपीओमा जनमानसको यती ठुलो सहभागिताले हामीलाई पुँजी जुटाउन सहज बनाईदिएको छ । तर हामी के कुरामा अत्यन्तै चनाखो हुनुपर्छ भने भविष्यमा पनि अहिले भइरहेको विश्वसनियता कतै कायम गर्न सकिएन भने चुनौती हुने हो कि भन्ने चिन्ता हो । तर हालसम्म हामीले कमाएको यो सफलता अत्यन्तै सही दिशामा छ ।

हालसालै नेपाल धितोपत्र बोर्डले आईपीओमा भइरहेको १० कित्ता नीति पुनरावलोकन गर्ने भन्दै अध्ययन समिति नै बनाएको छ । के आजको दिनमा नीति परिमार्जन गर्नु ठिक हो ?
अब यसमा अलिक फरक प्रकारले व्यख्या गरिनुपर्छ जस्तो लाग्छ । हिजोका दिनमा हामीले कुन विषयलाई ध्यान दिएर आईपिओमा १० कित्ताको नीति लियौं र आजको दिनमा हामीले कस्तो खालको अनुभव पायौं । जहिले पनि नियम र नियमनको कुरामा चाहीँ काम गर्दै सिक्दै जाने हो । यस्तो नियमले आम मानिसको फाइदालाई कसरी सुनिश्चित गरेको छ भन्ने महत्वपूर्ण कुरा हो । हाल आईपीओ भर्दा १० कित्ताका लागि मात्र आवेदन दिन मिल्ने व्यवस्था छ । यस्तो व्यवस्थाले जस्तोसुकै कम्पनीको सेयर पनि बिक्री हुने गरेको र अन्डराइटरले पनि सजिलै अन्डरराइट गर्ने गरेको देखिन्छ । यस व्यवस्थाले विद्यार्थी, गृहणी तथा ग्रामीण क्षेत्रका लगानीकर्ताको सहभागिता बढ्ने बोर्डको भनाई थियो । तर अहिले आएर जस्तो पनि कम्पनीले आईपीओ जारी गर्ने तर राम्रा कम्पनी र नराम्रा कम्पनीको भेद नछुट्टीने भएको हुँदा त्यतातीर पनि हामीले काम गर्नुपर्छ भन्ने नियमनकारी निकाय धितोपत्र बोर्डलाई लागेको होला । हेरौं अध्ययनले के भन्छ ।

अन्डराइटिङ्गको काम मर्चेन्ट बैंकिङ्गले गर्छन । ५० देखि ६० कित्ताको नीति आयो भने त तपाईहरुलाई अफ्ठ्यारो पर्ने भयो, हैन त ?
हामीलाई अफ्ठ्यारो पर्ने भन्ने विषय नहोला, तर केही छैन । हामीले त बजारले दिएको क्षेत्रहरुमा लगानी गर्दै त्यसको प्रतिफल दिने काम गरिहाल्छौँ । तर समग्र अर्थतन्त्रका हिसाबले सहि निर्णयहरु हुँदै जान्छन् । त्यो होस् । त्यही चाहान्छौँ ।

अन्तमा के भन्नुहुन्छ ?
मर्चेन्ट बैंकिङ्ग र पुँजी बजारलाई हेर्दा अहिले बजारमा यसको सकारात्मक पक्ष धेरै देखिएको छ । तर अझैपनि बजारमा आर्थिक गतिविधिहरु चलायमान भएन भन्ने खालका कुराहरु उत्पन्न भइरहेका छन, तर सधैँ भएन मात्रै नभनी केही सकारात्मक सुचकहरुलाई पनि हेर्नुपर्छ । अहिले बैंकहरुमा तरलता पर्याप्त छ, रेमिटेन्स खर्बमा भित्रिएको छ, पर्यटनहरु पर्याप्त मात्रामा आइरहेका छन । यी यावत कुराहरुले गर्दा बजारले लय समातेको छ । पुँजी बजारको मनोबल पनि बढिरहेको छ । त्यसैले हामी आत्तिहाल्नुपर्ने अवस्था छैन । हामी सबैै सकारात्मक उर्जाकासाथ अगाडी बढ्नुपर्छ ।