अन्तर्वार्ता

‘१० कित्ता परिमार्जन भन्दा पनि लगानीकर्ताहरुको उत्साहजनक सहभागिता महत्वपूर्ण कुरा हो’

‘१० कित्ता परिमार्जन भन्दा पनि लगानीकर्ताहरुको उत्साहजनक सहभागिता महत्वपूर्ण कुरा हो’


मर्चेन्ट बैंकर एवंम एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले विद्यार्थी र गृहणीलाई पनि सेयर बजारमा समेट्ने लक्ष्यसहित १० कित्ता सेयर बाँडफाँट गर्ने नीतिका कारण बजारमा आम लगानीकर्ताको सक्रियता बढेको र अहिलेको अवस्थामा १० कित्ते नीति पुनरावलोकन गनतर्फ नलागी सेयर बजारको उत्साहलाई जगाईराख्नुपर्ने बताएका छन । बैंकिङ्ग समाचारको इन्भेष्टमेन्ट टक विशेष कार्यक्रममा कुरा गर्दै उनले विद्यार्थीको रहर पनि जाग्छ र आर्थिक रूपमा पनि लाभान्वित हुने हुँदा यो आजको दिनमा आवश्यक रहेको बताएका छन ।
भिडियो

नेपाल धितोपत्र बोर्डले केही दिनअघि संगठित कम्पनीहरूले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने सीमा र अनिवार्य रूपमा १० कित्ता सेयर वितरण गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन हुने बताएपछि यतीबेला यो नीति परिमार्जन गर्न हुने वा नहुने भन्ने विषयमा वृहत बहस छेडिएको छ । कम्पनीहरूले आईपीओ जारी गर्न पाउने सीमा र अनिवार्य १० कित्ता सेयरसम्बन्धी विद्यमान व्यवस्था सबैका लागि उपयुक्त नभएको, विकृति भित्रिएको लगायत निष्कर्षका आधारमा नेपाल धितोपत्र बोर्डले पुनरावलोकन गर्न लागेको सरोकारवालाहरु बताउँछन ।

यसका लागि बोर्डले सञ्चालक समिति सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिका सदस्यमा बोर्डकै अर्का विज्ञ सञ्चालक भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरी छन् । हालको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हकमा चुक्ता पुँजीको कम्तीमा ३० प्रतिशत आईपीओ जारी गर्न पाउने व्यवस्था छ । जलविद्युत् क्षेत्रका कम्पनीहरूले चुक्ता पुँजीको कम्तीमा १० प्रतिशत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कम्तीमा १० प्रतिशत आईपीओ जारी गर्नुपर्ने व्यवस्था छ । यीबाहेक सबै क्षेत्रका कम्पनीले कम्तीमा १० प्रतिशत आईपीओ जारी गर्नुपर्छ ।

कार्यक्रममा बोल्दै वैद्यले भने, ‘धितोपत्र दर्ता तथा निष्कासन, प्रत्याभूतिकर्ता, पोर्टफोलियो व्यवस्थापन, सेयर रजिस्टार लगायत काम गर्ने मर्चेन्ट बैंकको बजार र प्रतिस्पर्धा बढ्दै गएको छ । प्रतिस्पर्धामा खरो उत्रन र चुनौतीलाई अवसरमा परिणत गर्न मर्चेन्ट बैंक आधुनिक प्रविधि, अद्यावधिक सूचना र दक्ष जनशक्तिले भरिपूर्ण हुनुपर्छ ।’ मर्चेन्ट बैंक जस्ता सेवाप्रदायक उद्योगको मुख्य सम्पत्ति भनेकै उच्च मनोबल सहितको दक्ष र निपूण जनशक्ति रहेको बताउँदै उनले भने, ‘त्यसैले अहिले दोस्रो बजार सुस्ताए पनि मर्चेन्ट बैंकहरूले भने क्षमता तथा दक्षता अभिवृद्धि र अनुसन्धान तथा विकासमा जोड दिनुपर्ने समय हो ।’

यस्तै मर्चेन्ट बैंक व्यावसायिक संस्था भएको बताउँदै उनले भने, ‘मर्चेन्ट बैंकले आफ्ना ग्राहक कम्पनीलाई आवश्यक पूँजी परिचालन गर्न सहयोग गरे बापत शुल्क लिने गर्छ । पूँजी परिचालन गर्ने क्रममा मर्चेन्ट बैंकले ग्राहकलाई आफैले शेयर वा ऋण लगानी गर्दैन । बरु, ग्राहक कम्पनीहरूलाई पूँजीबजारमा शेयर तथा ऋणपत्रहरू विक्री गरेर आवश्यक रकम उठाउन सहयोग गर्छ ।’ उनका अनुसार मर्चेन्ट बैंकले संस्थागत तथा लगानी व्यवस्थापनका विषयमा परामर्श पनि दिने गर्छ । उनले भने, ‘त्यसैले यस्ता वित्तीय संस्थालाई मर्चेन्ट बैंक र ती संस्था सञ्चालन गर्ने व्यक्तिलाई मर्चेन्ट बैंकर भनिएको हो । वास्तवमा बैंकिङ व्यवसायको शुरुआत नै मर्चेन्ट बैंकिङबाट भएको मानिन्छ ।’

अन्तर्वार्ताको क्रममा बोल्दै उनले भने, ‘अहिले मर्चेन्ट बैंकिङ्ग आधुनिक पूँजीबजारको एक अभिन्न अंगका रूपमा विकसित भएको छ । साथै नेपालजस्ता कतिपय देशहरूमा केही निश्चित क्षेत्रका कम्पनीहरूले उनीहरूको निश्चित प्रतिशत शेयर मर्चेन्ट बैंकमार्फत सर्वसाधारणमा जारी गर्नुपर्ने अनिवार्य व्यवस्थाले यो व्यवसाय थप मौलाउँदै गएको छ । अवश्य पनि अर्थतन्त्रको संरचनागत परिवर्तन र लगानीका नयाँ नयाँ उपकरणहरूको विकास र विस्तारसँगै मर्चेन्ट बैंकिङ्ग व्यवसाय पनि विस्तारित प्रविधिमय बन्दै गएको छ ।’