प्राधिकरणलाई एनसेलको पत्र– कागजात संकलन हुनासाथ पेस गर्छाैं (पत्रसहित)

प्राधिकरणलाई एनसेलको पत्र– कागजात संकलन हुनासाथ पेस गर्छाैं (पत्रसहित)


काठमाडौं– एनसेल आजियटाले शेयर स्वामित्व खरिद–बिक्री विवादसम्बन्धी विषयमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफी पत्र पठाएको छ। कम्पनीको ८० प्रतिशत शेयर बिक्रीबारे एनसेलले प्राधिकरणलाई पत्र लेख्दै नेपालको कानुनको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको बताएको छ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको थियो। सम्बन्धित क्षेत्रका नियामक निकायलाई जानकारी नै नदिइ शेयर खरिद–बिक्री भएपछि आर्थिक अनिमियतताबारे प्रश्न उठेका थिए।

नियामक निकायको स्वीकृति नलिइ गत मंसिर १५ गते एनसेलको सेयर बिक्री भएको खुलेपछि प्राधिकरणले एनसेललाई पत्र लेखेको थियो।

सेयर खरिद-बिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु संकलनको क्रममा रहेको बताउँदै एनसेलले कागजात संकलन हुनासाथ प्राधिकरणसमक्ष सेयर खरिद-बिक्री स्वीकृतिका लागि निवेदन पेस गर्ने बताएको छ।

पत्रमा भनिएकाे छ, ‘कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजात संकलन गरी दूरसञ्चार नियमावली २०५४ को नियम १५ १ ट र दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त व्यक्तिको सेयर खरिद विनियमावली २०७६ को विनियम ४ क बमोजिम तहाँ प्राधिकरणसमक्ष सेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा समेत सादर अवगत गराउन चाहन्छौँ।’

यस्तो छ एनसेलले प्राधिकरणलाई लेखेको पत्र
उपर्युक्त विषयमा तहाँको मिति २०८०/८/१५ च नं.  २११७५८ नं.को पत्र प्राप्त भयो। तत्सम्बन्धमा निम्नलिखित जानकारी गराउँदछौँ। 

यस कम्पनीलाई प्राप्त जानकारीअनुसार यस कम्पनीको सेयरधनी रेनल्ड होल्डिंग्स लिमिटेडको शतप्रतिशत सेयर खरिदबिक्री गर्ने सम्बन्धमा आजियटा यूके र स्पेक्ट्रलाइट लिमिटेडका बीच सेयर खरिदबिक्री सम्झौतासम्म गरेको देखिन्छ। तहाँको पत्रका सम्बन्धमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ ‘१’ ट र नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेको सेयर खरिद विनियमावली २०७६ को विनियम ४ क परिपालनको प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिदबिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलनको क्रममा रहेको व्यहोरा सादर अवगत गराउन चाहन्छौँ। 

एनसेल आजियटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध भएको सबैमा अवगतै छ। तहाँको पत्रमा उल्लिखित नियम र विनियमावलीका प्रावधानका पूर्ण परिपालना गर्न सदाझैँ एनसेल आजियटा लिमिटेड प्रतिबद्ध रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त मितिको सेयर खरिद विनियमावली २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजात संकलन गरी दूरसञ्चार नियमावली २०५४ को नियम १५ १ ट र दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त व्यक्तिको सेयर खरिद विनियमावली २०७६ को विनियम ४ क बमोजिम तहाँ प्राधिकरणसमक्ष सेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा समेत सादर अवगत गराउन चाहन्छौँ।