‘बास र गाँस खोसियो’ भन्दै भक्तपुर होल्डिङ सेन्टरमा सुकुम्बासीको प्रदर्शन


भक्तपुर – भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारले खाना दिन बन्द गरेपछि शुक्रबार रित्तो थाल बजाएर विरोध प्रदर्शन गरेका छन्। सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको समयसीमा नजिकिँदै गर्दा त्यहाँ बसिरहेका परिवारले भवन परिसरमा थाल बजाउँदै र प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। उनीहरूले ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन’ भन्दै नारासमेत लगाएका छन्।

यसअघि शान्ति सेवा गृहले होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई खाना खुवाउँदै आएको थियो। तर सरकारले शुक्रबारदेखि खाना उपलब्ध गराउन बन्द गरेपछि केही परिवारले आफैँ व्यवस्था गरेर खाना खाएका छन् भने केही भोकै बस्न बाध्य भएका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार लिखित सूचना टाँस गरी मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। यसअघि मंसिर २ गते एक साताभित्र ठाउँ छाड्न मौखिक निर्देशन दिइएको थियो।

काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि विस्थापित भएका परिवारले बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिँदै आएका थिए। केही परिवारले ठाउँ छाडिसके पनि अझै १९ परिवारका ५९ जना त्यहाँ बसिरहेका छन्। प्रशासनले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ (क) र ५२ (ख) अनुसार गरिएको छानबिनमा सात परिवार भूमिहीन नभएको निष्कर्ष निकालेको छ। तीन पुस्ताभित्र जग्गाजमिन देखिएको वा २०६६ माघ २८ गतेपछि जग्गा कारोबार गरेको पाइए उनीहरूलाई भूमिहीन नमानिने प्रशासनको भनाइ छ।

बाँकी १२ परिवारको हकमा भने जग्गाजमिन नदेखिएकाले भूमिहीनको निस्सा दिने र उनीहरूको स्थायी ठेगाना भएको जिल्लाको भूमि समस्या समाधान समितिमार्फत जग्गा यकिन गर्ने प्रक्रिया अघि बढाउने प्रशासनले जनाएको छ। प्रशासनले भूमिहीन देखिएका परिवारलाई होल्डिङ सेन्टर छाडेर स्थायी ठेगाना भएको जिल्लामा जान आग्रह गरेको छ। त्यसका लागि एक महिनाको घरभाडाबापत १५ हजार रुपैयाँ र यसअघि व्यवस्थापनका लागि तोकिएको २५ हजार रुपैयाँसमेत उपलब्ध गराइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताएका छन्।

तर होल्डिङ सेन्टरमा बसिरहेका परिवारले भने लालपुर्जा वा स्थायी बसोबासको व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान राख्दै आएका छन्। प्रशासनले तोकेको समयसीमा नजिकिँदै गर्दा उनीहरू कहाँ जाने र कसरी गुजारा चलाउने भन्ने अन्योलमा छन्। यसैबीच, प्रदर्शन र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरी टोली पनि होल्डिङ सेन्टर पुगेको छ। प्रदर्शनमा समर्थन जनाउन नागरिक अभियन्ता तथा जेनजी अभियन्ताहरू पनि पुग्ने क्रम जारी रहेको छ।