पूर्व मुख्यसचिव एकनारायण अर्यालमाथि चार दिन म्याद थप 


काठमाडौं – पूर्व मुख्यसचिव एकनारायण अर्याल अनुसन्धान गर्न अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई चार दिन समय दिएको छ। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार उनीमाथि चार दिन म्याद थप भएको हो। 

उनलाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सीआईबीले पक्राउ गरेको हो। नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन्।

उनीमाथि ठगी गरी सङ्कलन गरिएको रकममध्ये ८ करोड ३० लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ।