कारागारमुक्त भएपछि गृह जिल्ला पुगे टोपबहादुर रायमाझी


काठमाडौं – नेकपा (एमाले)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा भएपछि पहिलोपटक आफ्नो गृह जिल्ला अर्घाखाँची पुगेका छन्। शुक्रबार गृह जिल्ला पुगेका रायमाझीलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। जिल्लावासीले आफूलाई न्याय गर्ने विश्वास व्यक्त गर्दै उनले जिल्लामा रोकिएका विकास निर्माणका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाए।

गृह जिल्ला पुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रायमाझीले कारागार बसाइले आफूलाई थप आत्मविश्वासी र शक्तिशाली बनाएको बताए। आफूलाई कारागारमा राखेर कमजोर बनाउन खोजिए पनि त्यहाँबाट अझ खारिएर बाहिर आएको उनको भनाइ थियो। ‘मलाई त अध्ययन गर्न पो पठाएजस्तो भइदियो। वास्तवमा भन्ने हो भने भट्टीमा हालिएकै हो, खरानी बनाउन खोजेकै हो। तर भट्टीबाट खारिएर स्टिल भएर आएजस्तो महसुस भएको छ। मलाई आत्मविश्वास र शक्ति प्राप्त भएको छ,’ उनले भने।

कारागारमा बिताएको समयले देश निर्माण र विकासका विषयमा थप सोच्ने अवसर दिएको उनले बताए। हिजोभन्दा अहिले आफूमा देशका लागि केही गर्ने आँट र आत्मविश्वास बढेको उनको भनाइ थियो। रायमाझीले पुराना राजनीतिक दलहरूले आफ्नो सोच, विचार, कार्यशैली र योजनामा परिवर्तन गर्नुपर्ने आवश्यकता पनि औँल्याए। नयाँ पुस्ताको चाहना र अपेक्षालाई सम्बोधन गर्न नसके पुरानै तरिकाले राजनीति गर्न सम्भव नहुने उनले बताए।

‘हामी पुराना पार्टीहरू विचारले नयाँ हुनुपर्छ। विधि, योजना, कार्यक्रम र सोच्ने चिन्तनले नयाँ नभई अब गर्न सकिँदैन। पुरानो तरिकाले गर्न सकिने स्थिति छैन,’ उनले भने। नयाँ पुस्ता देशमै भविष्य खोज्नुभन्दा विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले समयअनुसार आफूलाई परिवर्तन गर्नुपर्ने बताए। आफूले कारागारमा बिताएको समय खेर नफालेको उल्लेख गर्दै रायमाझीले बाँकी जीवन देश र जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता जनाए। अर्घाखाँचीको विकास निर्माणमा सक्रिय भएर काम गर्ने उनको भनाइ थियो।