सर्लाहीमा नक्कली जग्गाधनी पुर्जा बनाएर जग्गा हिनामिना गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा नक्कली जग्गाधनी पुर्जा तयार गरी सरकारी अभिलेखमा अनधिकृत हेरफेर गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव र ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गलत लिखत तयार गरेको, सरकारी कागजात सच्याएको तथा गलत प्रतिवेदन दिएको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार सर्लाहीको साविक सोकनाहा गाविस वडा नं। २(ख) स्थित कित्ता नं. ६२ को ०–११–२ जग्गा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिलेमतोमा फर्जी जग्गाधनी पुर्जा बनाई बिक्री गरिएको भन्ने उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।अनुसन्धानका क्रममा उक्त जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको पाइएको आयोगले जनाएको छ। तर, उनीहरूको हकभोगमा रहेको जग्गालाई कुनै समयमा पनि हकभोग नभएका किशोरी धामी थारू र भोला धामी थारूको नाममा रहेको भनी मालपोत कार्यालयको अभिलेखमा विवरण परिवर्तन गरिएको आरोप छ।

आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा वास्तविक तथ्य लुकाई हुँदै नभएको जग्गाधनी खडा गरी किशोरी धामी थारूको नाममा जग्गा दाखिल खारेज गरेका थिए। यस क्रममा गलत व्यक्तिको नाममा जग्गा दर्ता गरी स्रेस्ता तथा जग्गाधनी पुर्जा तयार गरिएको र सरकारी कागजातमा अनधिकृत रूपमा थपघट तथा हेरफेर गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

उक्त कार्यबाट प्रतिवादीहरूले आफू तथा अन्य व्यक्तिलाई गैरकानुनी लाभ पुर्‍याउने र वास्तविक जग्गाधनीलाई प्रत्यक्ष हानिनोक्सानी पुर्‍याउने बदनियत राखेको आयोगले जनाएको छ। उनीहरुविरुद्ध प्रचलित कानुनबमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।