काठमाडौं – कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गर्दै आएको ‘अपरेशन सभ्यता’ अभियानअन्तर्गत थप ९ जना व्यक्ति र १८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले मंसिर ६ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६, लेकसाइड क्षेत्रमा विशेष निगरानी तथा चेकजाँच गरेको थियो।
सो क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँड्ने ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस्तै, चेकजाँचका क्रममा १८ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये १० वटाका चालकलाई मादक पदार्थ सेवन (मापसे) सम्बन्धी कारबाही गरिएको छ भने ४ वटा सवारीसाधनलाई अन्य ट्राफिक नियम उल्लङ्घनमा जरिवाना गरिएको छ। बाँकी ४ वटा सवारीसाधनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।
लेकसाइड क्षेत्रमा हुने झैझगडा, पर्यटकलाई अनावश्यक दुःख तथा हैरानी दिने, दुर्व्यवहार गर्ने र अनैतिक तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई निगरानी गरी नियन्त्रणमा लिने उद्देश्यले प्रहरीले उक्त अभियान सञ्चालन गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अभियान सुरु भएयता हालसम्म १६८ जना पुरुष र ८ जना महिलासहित कुल १७६ जना व्यक्ति तथा ४६१ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।





About Us
प्रतिक्रिया