दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी


काठमाडौं – दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गरेको बजेट योजनामा यस वर्षको तुलनामा झन्डै दोब्बर रकम विनियोजन प्रस्ताव गरिएको छ।

सरकारले एआई विकासका लागि २१ खर्ब ३० अर्ब वन छुट्याउने प्रस्ताव गरेको छ। त्यसमध्ये आफ्नै एआई नमुना विकास गर्न चार खर्ब ७० अर्ब वन खर्च गरिनेछ। एआई प्रविधिको विस्तारसँगै मेमोरी चिपको माग बढिरहेका बेला दक्षिण कोरियाले यो क्षेत्रमा लगानी बढाउन लागेको हो । सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स विश्वका प्रमुख मेमोरी चिप उत्पादक कम्पनी हुन् ।

सन् २०२७ को कुल बजेट ८२१ खर्ब वन प्रस्ताव गरिएको छ र यो चालु वर्षभन्दा १२.८ प्रतिशत बढी हो। यो देशकै ठूलो बजेट प्रस्ताव हो।

सरकारले रक्षा बजेट पनि ८.२ प्रतिशत बढाएर ७३ खर्ब ३० अर्ब वन पुर्‍याउने प्रस्ताव गरेको छ। आणविक शक्तिबाट चल्ने पनडुब्बी, केएफ–२१ लडाकू विमान तथा एआई, रोबोट र ड्रोनमा आधारित सैन्य प्रणाली विकासलाई प्राथमिकता दिइने राष्ट्रपति लीले बताए। बजेट कार्यान्वयनका लागि संसद्को स्वीकृति आवश्यक पर्नेछ।