काभ्रेपलान्चोक- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिने गरी पसलमा राख्न काभ्रेपलान्चोकका व्यवसायीलाई निर्देशन दिएको छ।
जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख सहर बनेपाका मिठाई पसलको अनुगमनपश्चात कार्यालयले यस्तो निर्देशन दिएको हो। कार्यालयका प्रमुख मनिषा चापागाईँले मिठाई उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग गरिसक्नुपर्ने मिति र बिक्री मूल्य ग्राहकले सहजै देख्न सक्नेगरी मिठाइको सोकेस वा काउन्टरमा राख्न निर्देशन दिइएको बताइन।
अनुगमनका क्रममा कार्यालयले मिठाई व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ। तारेर वा पकाएर तयार गरिने मिठाइमा सिन्थेटिक खाद्य रङ प्रयोग नगर्न, मिठाइलगायत खाद्य पदार्थ प्याक गर्न छापिएका कागज तथा पत्रपत्रिका प्रयोग नगर्न र खाद्य पदार्थ तार्न एउटै तेल पटकपटक प्रयोग नगर्न व्यवसायीलाई सचेत गराइएको चापागाईँले बताए। साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को पालना गर्न र गराउन पनि कार्यालयले निर्देशन दिएको छ।
मिठाइमा प्रयोग भएका सामग्री तथा मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी उपलब्ध गराउने र खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। यसले उपभोक्तालाई आफूले खरिद गर्न लागेको मिठाइको गुणस्तर, प्रयोग भएका सामग्री र मूल्यबारे जानकारी लिएर खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। तिहार तथा छठ पर्वमा अन्य समयको तुलनामा मिठाइको खपत बढी हुने गर्दछ।






About Us
प्रतिक्रिया