गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता


काठमाडाैं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको कूटनीतिक पहल र संवादपछि ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले नेपालको राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म आठ अर्ब ५९ करोड १९ लाख ६८ हजार रूपैयाँ बराबरको सहायता प्रदान गर्ने भएको छ।

यसका साथै गाभीले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको नियमित खोप कार्यक्रमको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालबाट फिर्ता माग गरेको तीन लाख आठ हजार २७१ अमेरिकी डलर रकम मिनाहा गराउनसमेत सफलता मिलेको छ।

मन्त्री मेहताको पहलमा सहजीकरण भएको यस सहयोग र मिनाहाले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनलाई बलियो बनाउन ठूलो योगदान पुग्नेछ।

विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको वर्तमान अवस्थामा यो सहायता सुनिश्चित हुनु र बेरुजु रकम मिनाहा हुनुले नेपालमा बालबालिका तथा लक्षित जनसङ्ख्यालाई संक्रामक रोगबाट सुरक्षित राख्दै खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारितालाई दिगो बनाउन महत्वपूर्ण उपलब्धि हासिल भएको छ।