काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा ‘बेन्चमार्क’ सूचकाङ्क (एनबीआई) विकास गर्नका लागि ‘धितोपत्र बजारमा बेन्चमार्क सूचकाङ्कको पुनर्संरचना सम्बन्धी कार्यपत्र, २०८३’ सार्वजनिक गरेको छ। बोर्डले हालको नेप्से परिसूचकलाई ‘नेप्से अल इक्वीटी इन्डेक्स’ को रूपमा कायम राख्दै नयाँ सूचक विकास गर्ने तयारी गरेको हो।
बजारमा सर्वसाधारणले खरिदबिक्री गर्ने शेयरको मूल्य घटबढका आधारमा बेन्चमार्क विकास गरिने बोर्डले जनाएको छ। हालको नेप्से परिसूचक सूचीकृत सबै शेयरको कुल बजार पुँजीकरणमा आधारित रहेर गणना हुने गरेको छ। हाल कायम रहेको नेप्से सूचकाङ्कलाई यथावत् राखी यसलाई समग्र शेयरको मूल्य मापन गर्ने बृहत् सूचकको रूपमा पुनर्संरचना गरिनेछ। जसले गर्दा बजारमा अनावश्यक भ्रम उत्पन्न हुनबाट रोक्ने बोर्डले जनाएको छ।
प्रस्तावित नयाँ इन्डेक्सलाई प्रारम्भिक रूपमा नेप्से फ्रि फ्लोट बेन्चमार्क इन्डेक्स ब्रान्डिङ वा अन्तर्राष्ट्रिय बजारसँग उत्पादन विकासलाई ध्यान दिई नेप्से बेन्चमार्क इन्डेक्स भन्न सकिने बोर्डले जनाएको छ। बोर्डका अनुसार नाम छनोटमा नेप्सेले आवश्यक परामर्श गर्न सक्नेछन्, साथै यसको मूल कार्यविधि फ्रि फ्लोट समायोजित सूचकाङ्क हुनेछ।
हाल प्रयोगमा रहेको नेप्से परिसूचकले दैनिक कारोबार नहुने, लकइन भएका संस्थापक शेयरहरूको समेत बजार पुँजीकरणलाई आधार मानी सूचकाङ्क गणना गर्ने गरिएको छ। जसको कारण सरकारी स्वामित्वमा भएको तथा लकइन शेयरहरू कुल बजार पुँजीकरणमा जोडिए तापनि दैनिक कारोबारमा उपलब्ध नहुने हुँदा यथार्थपरक बजार सूचकाङ्क मापन नहुने हुँदा यसले बजारको यथार्थ चित्रण नभएको भन्ने जनसरोकारको विषय सम्बोधन गर्नुपर्ने भएको बोर्डले जनाएको छ।
यस नयाँ बेन्चमार्कको कार्यान्वयनका लागि संस्थापक, सरकारी र लकइनमा रहेको शेयरहरूलाई छुट्याएर कारोबारयोग्य हिस्साका आधारमा निश्चित फ्री फ्लोट फ्याक्टर लागू गर्ने बोर्डले जनाएको छ। हाल सेन्सिटिभ इन्डेक्स र फ्लोट इन्डेक्स गणना पनि भइरहेको छ। नेप्सेले क वर्गमा सूचीकृत गरेका कम्पनीको कुल शेयरको आधार वर्ष मूल्य र वर्तमान बजार मूल्यका आधारमा सेन्सिटिभ इन्डेक्स गणना गरिन्छ । २०६३ पुस १७ देखि यो सूचक गणना हुँदै आएको छ।
त्यस्तै कारोबारयोग्य शेयरको आधार मूल्य र वर्तमान बजार मूल्यका आधारमा फ्लोट इन्डेक्स परिसूचक गणना हुने गरेको छ। कुल सूचीकृत शेयरमध्ये करिब एक तिहाई कारोबारयोग्य शेयरको मूल्यका आधारमा फ्लोट इन्डेक्स निकालिएको हो। २०६५ भदौ ३० देखि फ्लोट इन्डेक्स गणना सुरु भएको हो।
कस्ता छन् उद्देश्यहरू
एनबीआईको विकासले नेपालमा लगानीयोग्य इक्विटी बजारको वास्तविक कार्यसम्पादन मापन गर्ने उद्देश्य रहेको छ। त्यस्तै, संस्थागत लगानीकर्ताहरूका ‘पोर्टफोलीयो’ को कार्यसम्पादन बेन्चमार्क विकास गर्नु, त्यसैगरी, म्युचुअल फन्ड, इन्डेक्स फन्ड, तथा भविष्यका लागि इटीएफएस उपलब्ध गराउनु, सम्भावित इक्विटी डेरिभेटीभको आधारभूत सूचाङ्गकका रूपमा प्रयोग गर्न सकिने आधार निर्माण गर्नु, विदेशी संस्थागत तथा पोर्टफोलियो इन्भेष्टर अन्तर्राष्ट्रिय मापदण्ड सूचकाङ्क उपलब्ध गराउनु यसको उद्देश्य रहेको छ।
त्यस्तै, नेपालका विभिन्न क्षेत्रको वास्तविक लगानी योग्य बजार भार प्रतिबिम्बित गर्नु, बजारको प्राइस डिस्कभरि र इन्भेष्टमेन्ट डिसिजन मेकिङ्गलाई थप पारदर्शी बनाउनु, नेपालका इन्भेष्टमेन्ट मेथोलोजिलाई अन्तर्राष्ट्रिय अभ्याससँग तुलनायोग्य बनाउनु लगायतका उद्देश्यहरू रहेका छन्।







About Us
प्रतिक्रिया