३ करोड ३८ लाख बढीको क्रिप्टो कारोबार गर्ने बिक्की कुमार महतो पक्राउ


काठमाडौं – ३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं बस्ने बिक्की कुमार महतो रहेका छन्। 

प्रहरीका अनुसार महतोलाई काठमाडौं महानगरपालिका–११, माइतीघरस्थित सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो। सोधपुछ तथा चेकजाँचका क्रममा उनले ‘वाक्न एक्स बेट’  मोबाइल एप्लिकेसनमार्फत सट्टेबाजी तथा अनलाइन जुवा गर्ने–गराउने गरेको खुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी, उनले यूएसडीटीलगायत अभौतिक मुद्रा तथा क्रिप्टोकरेन्सीको कारोबार समेत गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार  रकमको कारोबार गरेको देखिएको छ। प्रहरीले उनको साथबाट एक थान मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिएको छ। उनलाई अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।