लुटेरा समूह

जडीबुटीमा गोली प्रहार गरी पक्राउ गरिएको लुटेरा समूहका नाइके २७ डाँकाचोरी मुद्दामा संलग्न

'भक्तपुरमा दुईवटा मुद्दासहित विभिन्न प्रहरी युनिटमा २७ वटा कसुर दर्ता'


काठमाडौं – काठमाडौंको जडीबुटीमा प्रहरीले गोली प्रहार गरेर लुटेरा समूहका नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा समूहका नाइके २४ वर्षीय आयन माझी, राकेश थिङ र मनोज कुमार मोक्तान रहेका छन्।

प्रहरीका अनुसार बुधबार राति काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटी पुलमुनि पक्राउ गर्न खोज्दा माझीले प्रहरी सहायक हवल्दार डम्बरबहादुर श्रेष्ठमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले माझीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा माझी २७ वटा डाँकाचोरी तथा लुटपाटसम्बन्धी घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनी यसअघि पनि डाँकाचोरी मुद्दामा पक्राउ परेका थिए। २०७७ सालमा पक्राउ परेर जेल सजाय भुक्तान गरी छुटेका माझीविरुद्ध २०७९ सालमा भक्तपुरमा दुईवटा मुद्दासहित विभिन्न प्रहरी युनिटमा २७ वटा कसुर दर्ता भएको भेटिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पक्राउ परेको समूहले मोटरसाइकल प्रयोग गरेर पैदल यात्रुको सुनको सिक्री लुट्ने तथा विभिन्न स्थानमा डाँकाचोरी गर्ने गरेको थियो। अनुसन्धानबाट उक्त समूहले अहिलेसम्म १५ वटा मोटरसाइकल चोरी गरेको समेत खुलेको छ।

सिक्री लुटपाटका क्रममा मनोज कुमार मोक्तानले मोटरसाइकल चलाउने र राकेश थिङ पछाडि बसेर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई आयन माझीले निर्देशन दिने गरेको अनुसन्धानबाट खुलेको छ।