काठमाडौं – सर्वोत्तम सिमेन्टपछि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पनि बुक बिल्डिङ विधिमार्फत आफ्नो प्राथमिक शेयर निष्कासन प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ। नेपालमा यो विधिबाट शेयर जारी गर्ने रिलायन्स दोस्रो कम्पनी हो। नेपालमा बुक बिल्डिङ विधि अस्वाभाविक रूपमा महङ्गो मूल्य निर्धारण, वित्तीय विवरणमा पारदर्शिताको कमी, र संस्थागत लगानीकर्ताहरूको मिलेमतोको आशंकाका कारण विवादित बन्दै आइरहेको छ।
नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजारमा वास्तविक मूल्य निर्धारण होस् भनेर यो प्रणाली भित्र्याए पनि व्यवहारमा यसले आम साना लगानीकर्तालाई मर्कामा पारेको भन्दै तीव्र आलोचना भइरहेको छ। यसै सन्दर्भमा नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३ ले यससम्बन्धी विषयहरू औंल्याएको छ।
बुक बिल्डिङ सार्वजनिक निष्कासनको बजार आधारित मूल्य निर्धारण विधि हो। यसमा निष्कासन मूल्य पूर्वनिर्धारित हुँदैन। यसको सट्टा योग्य संस्थागत लगानीकर्ताहरूबाट प्राप्त माग, मूल्य प्रस्ताव तथा लगानी रुचिका आधारमा अन्तिम निष्कासन मूल्य निर्धारण गरिन्छ। विश्वका अधिकांश विकसित पूँजी बजारहरूमा ठूला सार्वजनिक निष्कासनका लागि बुक बिल्डिङ प्रणालीलाई प्राथमिक विधिका रूपमा स्वीकार गरिएको छ।
यसले निष्कासन मूल्यलाई बजारको वास्तविक मागसँग जोड्ने, संस्थागत लगानीकर्ताको विशेषज्ञताको उपयोग गर्ने तथा पूँजी परिचालनलाई अधिक प्रभावकारी बनाउने उद्देश्य राख्ने श्वेतपत्रमा उल्लेख छ । नेपालले पनि सार्वजनिक निष्कासन प्रणालीको आधुनिकीकरण गर्ने उद्देश्यले बुक बिल्डिङ प्रणालीको कानूनी व्यवस्था लागू गरेको छ। तथापि यसको कार्यान्वयन प्रारम्भिक चरणमै रहेको छ र व्यावहारिक अनुभवले प्रणालीमा केही संरचनागत तथा सञ्चालनगत सुधार आवश्यक रहेको श्वेतपत्रमा भनिएको छ।
नेपालमा लागू गरिएको बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताबाट बोलकबोल संकलन, निष्कासनकर्ताले मूल्य दायरा प्रस्ताव गर्ने व्यवस्था, प्राप्त बोलकबोलका आधारमा अन्तिम मूल्य निर्धारण, संस्थागत तथा सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाछुट्टै बाँडफाँट व्यवस्था, नियामकीय स्वीकृतिपछि सार्वजनिक निष्कासन सञ्चालन जस्ता प्रमुख व्यवस्थाहरू रहेको उल्लेख छ। यस प्रणालीले निश्चित मूल्य प्रणालीको विकल्पका रूपमा बजार-आधारित मूल्य निर्धारणको अवधारणा नेपालमा सुरु गरेको सेबोनले जनाएको छ।
यस विधिको प्रयोगबाट कम्पनीको निष्कासन मूल्य बजारको वास्तविक माग, अपेक्षा तथा विश्लेषणका आधारमा निर्धारण हुने सम्भावना बढ्छ। उचित मूल्य निर्धारणका कारण कम्पनीले आफ्नो वास्तविक मूल्यसँग नजिकको पूँजी संकलन गर्न सक्छ। यसका साथै व्यावसायिक विश्लेषण गर्ने संस्थागत लगानीकर्ताको सहभागिताले मूल्य निर्धारणको गुणस्तर सुधार हुनुका साथै बुक बिल्डिङ प्रणालीले नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय अभ्याससँग क्रमशः नजिक ल्याउने आधार तयार गरेको उल्लेख छ।
श्वेतपत्रअनुसार हालको बुक बिल्डिङ विधिको कार्यान्वयनमा विभिन्न चुनौतीहरू देखिएका छन्। श्वेतपत्रमा भनिएको छ, ‘नेपालमा सक्रिय, विविधीकृत तथा पर्याप्त सङ्ख्यामा योग्य संस्थागत लगानीकर्ताको आधार अझै सानो छ र सीमित प्रतिस्पर्धाले मूल्य अन्वेषण प्रक्रियालाई प्रभावित गर्न सक्छ। यदि बोलकबोल गर्ने संस्थाको सङ्ख्या वा विविधता कम भयो भने निष्कासन मूल्यले वास्तविक बजार मूल्यलाई पूर्ण रूपमा प्रतिविम्बित नगर्न सक्छ। विभिन्न निष्कासनमा प्रयोग हुने मूल्यांकन पद्धति, धारणाहरू तथा वित्तीय अनुमानमा एकरूपता र पारदर्शिता बढाउन आवश्यक देखिन्छ। प्रक्रिया धेरै जटिल वा लामो भएमा निष्कासनकर्ता कम्पनी तथा लगानीकर्ताको सहभागितामा प्रभाव पर्न सक्छ भने बुक बिल्डिङबाट निर्धारण भएको मूल्य र सूचीकरणपछिको दोस्रो बजार व्यवहारबिचको सम्बन्धबारे निरन्तर अध्ययन तथा समीक्षा आवश्यक छ।’
भारत, सिङ्गापुर, मलेसिया, बेलायत तथा संयुक्त राज्य अमेरिका लगायत विकसित बजारहरूमा बुक बिल्डिङ प्रणालीका स्पष्ट योग्य संस्थागत लगानीकर्ता ढाँचा, व्यापक संस्थागत सहभागिता, पारदर्शी बोलकबोल प्रणाली, मुख्य लगानीकर्ता व्यवस्था, विस्तृत मूल्यांकन, स्पष्ट बाँडफाँट नीति र नियामकीय निगरानी तथा निष्कासनपछिको समीक्षा लगायतका साझा विशेषता पाइने श्वेतपत्रमा उल्लेख छ।
नेपालको वर्तमान अवस्था हेर्दा बुक बिल्डिङ प्रणालीलाई थप प्रभावकारी बनाउन योग्य संस्थागत लगानीकर्ताको दायरा विस्तार, मुख्य लगानीकर्ता ढाँचाको विकास, मूल्यांकन मापदण्डको एकरूपता, बोलकबोल पारदर्शितासम्बन्धी स्पष्ट व्यवस्था, संस्थागत लगानीकर्ताको उत्तरदायित्व सुदृढीकरण, नियामकीय समीक्षा प्रक्रियाको आधुनिकीकरण र निष्कासनपछिको मूल्य व्यवहारको नियमित विश्लेषण जस्ता आधारभूत सुधार आवश्यक देखिएको श्वेतपत्रले औंल्याएको छ।
नेपालको बुक बिल्डिङ प्रणालीलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन स्पष्ट योग्य संस्थागत लगानीकर्ता वर्गीकरण, मुख्य लगानीकर्ता निर्देशिका, बुक बिल्डिङ आचारसंहिता, मूल्यांकन कार्यविधि निर्देशिका, विद्युतीय बुक बिल्डिङ मञ्च, संस्थागत बोलकबोल सार्वजनिक गर्ने ढाँचा, स्वार्थको द्वन्द्व व्यवस्थापन, स्वतन्त्र व्यावसायिक गहन अध्ययन समीक्षा, र निष्कासनपछिको मूल्यांकन संयन्त्र जस्ता सुधारहरू आवश्यक रहेको उल्लेख छ।
‘नेपालमा बुक बिल्डिङ प्रणालीको प्रारम्भ पूँजी बजार आधुनिकीकरणतर्फको महत्त्वपूर्ण कदम हो’, श्वेतपत्रमा भनिएको छ, ‘यसको दीर्घकालीन सफलता कानूनी व्यवस्था लागू गर्नुमा निर्भर रहँदैन। योग्य संस्थागत लगानीकर्ता, पारदर्शी मूल्यांकन, विश्वसनीय बोलकबोल प्रणाली, उत्तरदायी निष्कासन तथा बिक्री प्रबन्धक तथा प्रभावकारी नियामकीय निरीक्षणबिचको समन्वय नै यसको सफल कार्यान्वयनको आधार हो। त्यसैले नेपालको बुक बिल्डिङ प्रणालीलाई वर्तमान अवस्थामै स्थिर राख्नुको सट्टा अन्तर्राष्ट्रिय अभ्यास, बजारको परिपक्वता तथा संस्थागत क्षमताअनुसार क्रमिक रूपमा परिष्कृत गर्दै लैजान आवश्यक छ।’
बुक बिल्डिङ विधि नेपालको प्राथमिक पूँजी बजारलाई बजारआधारित मूल्य निर्धारणतर्फ रूपान्तरण गर्ने महत्त्वपूर्ण सुधार हुने श्वेतपत्रमा उल्लेख छ। यसको प्रभावकारी कार्यान्वयनका लागि योग्य संस्थागत लगानीकर्ता, मुख्य लगानीकर्ता, पारदर्शी मूल्यांकन, स्पष्ट बाँडफाँट मापदण्ड, डिजिटल बोलकबोल प्रणाली तथा सुदृढ नियामकीय निरीक्षण अपरिहार्य रहेको श्वेतपत्रले औंल्याएको छ। यी सुधारहरू कार्यान्वयन भएमा सार्वजनिक निष्कासनको मूल्य अन्वेषण प्रक्रिया, पूँजी परिचालनको दक्षता तथा लगानीकर्ता विश्वासमा दीर्घकालीन सुधार आउने भनिएको छ।
हालसम्मको कार्यान्वयनबाट नेपालमा पहिलो पटक निष्कासन मूल्य निर्धारणमा संस्थागत लगानीकर्ताको मागलाई समावेश गर्ने अभ्यास प्रारम्भ भएको छ। बुक बिल्डिङ प्रक्रियाले संस्थागत लगानीकर्ताको भूमिकालाई औपचारिक रूपमा स्थापित गरेको छ भने निष्कासनकर्ता कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक तथा मूल्यांकन विज्ञहरूमा वित्तीय मूल्यांकन सम्बन्धी क्षमता विस्तार हुन थालेको छ। साथै, नेपाल धितोपत्र बोर्ड, निष्कासन तथा बिक्री प्रबन्धक तथा अन्य बजार पूर्वाधार संस्थाहरूले नयाँ प्रणाली सञ्चालनको व्यावहारिक अनुभव प्राप्त गरेका छन्।
प्रारम्भिक कार्यान्वयन अनुभवका आधारमा प्रणालीलाई स्थिर र पूर्वानुमानयोग्य बनाउनु आवश्यक देखिएको श्वेतपत्रमा उल्लेख छ। जसअनुसार बारम्बारको नियामकीय परिवर्तनभन्दा स्पष्ट, दीर्घकालीन र स्थिर नीति बढी प्रभावकारी हुन्छ। बुक बिल्डिङको गुणस्तर मुख्यतः योग्य संस्थागत लगानीकर्ताको विविधता र सक्रियतामा निर्भर हुने भएकाले उनीहरूको आधार विस्तार गर्नुपर्ने भनिएको छ।
स्वीकृत मूल्यांकन निर्देशिका, वित्तीय मोडलसम्बन्धी मापदण्ड तथा गहन अध्ययन ढाँचा तयार गरी मूल्यांकन मापदण्ड विकास गर्न आवश्यक रहेको श्वेतपत्रमा औंल्याइएको छ। यसमा भनिएको छ, ‘मूल्य निर्धारण प्रक्रिया, बोलकबोलको सारांश, तथा निष्कासन मूल्य निर्धारणको आधार सम्बन्धी जानकारी थप सुदृढ गरी पारदर्शिता बढाउनुपर्छ। साथै नेपाल धितोपत्र बोर्ड, मर्चेन्ट बैंकर, संस्थागत लगानीकर्ता, मूल्यांकन तथा अन्य बजार सहभागीका लागि नियमित तालिम र व्यावसायिक क्षमता विकास कार्यक्रम सञ्चालन गरी क्षमता विकासमा निरन्तर लगानी गर्नुपर्छ।’







About Us
प्रतिक्रिया