काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्र अहिले नवीन अवसरसँगै बढी आत्मविश्वास खोजिरहेको बताएका छन्। उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँगको छलफलमा उनले यस्तो बाएका हुन्।
पछिल्ला केही दिनमा आफुले उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग गरेको छलफलमा उनीहरुले केवल सहुलियत होइन, स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन आवश्यक रहेको देखिएको बताए। उनले सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्ने बताए।
‘हामीले पछिल्लो एक दशकलाई फर्केर हेर्नुपर्छ। के हामीले नीतिगत रूपमा सही निर्णयहरू गर्न सकेनौँ? धेरै ठाउँमा सकेका थियौँ। तर ती निर्णयहरू कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम दिन सकेनन्? किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयो? किन लगानीको आत्मविश्वास कमजोर भयोरु किन बैंकमा तरलता बढ्दै गयो तर उद्योगमा कर्जा पुग्न सकेन? किन पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै गयो? किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन’ उनले भने । यस वर्षको बजेटमार्फत सरकारले एउटा स्पष्ट दिशा तय गरेको उनले बताए। उनले यो सामान्य वार्षिक बजेट नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्याप रहेको बताए।
उनले नियमनको उद्देश्य केवल नियन्त्रण होइन, उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु पनि रहेको बताए।
यस्तो छ अर्थमन्त्रीको सम्बोधन
आदरणीय कार्यकारी निर्देशकज्यूहरू,
यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु।
आजको बैठक नियमित अन्तरसंस्थागत समन्वय बैठक मात्र नभएर नेपालको आर्थिक रूपान्तरणलाई कार्यान्वयनमा लैजाने साझा अभियानको एउटा महत्वपूर्ण चरण हो।
पछिल्ला केही दिनमा मैले उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग लामो समय छलफल गर्ने अवसर पाएँ। ती दुवै बैठकबाट एउटा कुरा अत्यन्त स्पष्ट भएर आएको छ- निजी क्षेत्र अहिले नवीन अवसरसंगै बढी आत्मविश्वास खोजिरहेको छ। उहाँहरूलाई केवल सहुलियत होइन, स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको छ।
यही सन्दर्भमा आज म तपाईहरुसँग बसेको छु। हाम्रो सोच, हाम्रो प्राथमिकता र हाम्रो कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्छ।
हामीले पछिल्लो एक दशकलाई फर्केर हेर्नुपर्छ। के हामीले नीतिगत रूपमा सही निर्णयहरू गर्न सकेनौँ? धेरै ठाउँमा सकेका थियौँ। तर ती निर्णयहरू कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम दिन सकेनन्? किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयो? किन लगानीको आत्मविश्वास कमजोर भयो? किन बैंकमा तरलता बढ्दै गयो तर उद्योगमा कर्जा पुग्न सकेन? किन पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै गयो? किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन?
यी प्रश्नहरू केवल समीक्षा गर्ने विषय होइनन्। यिनै प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्नेछ।
यस वर्षको बजेटमार्फत सरकारले एउटा स्पष्ट दिशा तय गरेको छ। यो सामान्य वार्षिक बजेट होइन। यो आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्याप हो।
अब प्रश्न अर्को छ— नेपाल राष्ट्र बैंक यस यात्रामा आफ्नो भूमिका कसरी पुनर्परिभाषित गर्छ?
आज म यही विषयमा खुला र गम्भीर छलफल चाहन्छु। हामी सबैले आफ्नै संस्थालाई एउटा प्रश्न सोध्नुपर्छ—
के हामी पर्याप्त आत्मविश्वासका साथ काम गरिरहेका छौँ? के हाम्रो नीतिगत स्पष्टता पर्याप्त छ? के हाम्रो निर्णय प्रक्रियामा पर्याप्त तत्परता छ? के हामी समस्या समाधान गर्ने नियामक हौँ, कि समस्या व्यवस्थापन गर्ने नियामक मात्र? हामीले अहिलेको आर्थिक परिस्थितिलाई केवल जोखिम व्यवस्थापनको दृष्टिले हेर्ने कि अवसर सिर्जनाको दृष्टिले पनि हेर्ने? यही सोचमा अब परिवर्तन आवश्यक छ।
आज म विशेष गरी केही विषयमा यहाँहरूको धारणा सुन्न चाहन्छु।
सरकारले घोषणा गरेका आर्थिक सुधारहरूलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन–कुन नीतिगत पहल गर्नुपर्छ? उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिन्छ? बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिन्छ? पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध कसरी निर्माण गर्न सकिन्छ? मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउने? डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई कसरी सहज बनाउने?
अब नियमनको उद्देश्य केवल नियन्त्रण होइन, उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु पनि हो। हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ? यो प्रश्न पनि हामीले आफैँसँग सोध्नुपर्छ।
आज म विशेष आग्रह गर्न चाहन्छु— हामी “यो सम्भव छैन” भन्ने सोचबाट होइन, “यसलाई सम्भव बनाउन के गर्नुपर्छ?” भन्ने सोचबाट छलफल गरौँ। किनभने अहिले नेपाललाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो।
यदि सरकार आत्मविश्वासी छ, नेपाल राष्ट्र बैंक आत्मविश्वासी छ, बैंकिङ प्रणाली आत्मविश्वासी छ र निजी क्षेत्र आत्मविश्वासी छ भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य हुँदैन।
सरकारका तर्फबाट हामीले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिएका छौँ। सुधारको प्रक्रिया सुरु भइसकेको छ। आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेका छौँ। अब मौद्रिक पक्षबाट पनि त्यही गति, त्यही स्पष्टता र त्यही प्रतिबद्धता आवश्यक छ।
म नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा हेर्न चाहन्छु।
आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने छैन। यहाँ उठेका प्रत्येक विषयलाई कार्ययोजनामा रूपान्तरण गरिनेछ। आवश्यक परे संयुक्त कार्यदल बनाउनेछौँ, नीतिगत समन्वयलाई संस्थागत गर्नेछौँ र निर्णय प्रक्रियालाई अझ छरितो बनाउनेछौँ।
अन्त्यमा म एउटै कुरा भन्न चाहन्छु।
हामीसँग अहिले दुर्लभ अवसर छ। सुधारको राजनीतिक इच्छाशक्ति छ। आर्थिक स्थायित्वको आधार बनेको छ। निजी क्षेत्र अवसरका लागि तयार छ। अब राज्यका संस्थाहरूले पनि एउटै आत्मविश्वास, एउटै स्पष्टता र एउटै गतिका साथ अघि बढ्नुपर्छ।यदि सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे भने नेपालको आर्थिक रूपान्तरण अब केवल कल्पना रहने छैन; त्यो कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ।
आउनुहोस्, आजको बैठकलाई त्यही साझा यात्राको अर्को महत्वपूर्ण सुरुवात बनाऔँ।
धन्यवाद।







About Us
प्रतिक्रिया