यस्तो छ आज बसेको मन्त्रीपरिषद् बैठकको निर्णय


काठमाडौं – मन्त्रिपरिषद्को बैठकले विभिन्न कानुन संशोधन तथा नयाँ कानुन निर्माणसँग सम्बन्धित नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले नौ विधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उहांकाअनुसार ल्यबैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी ऐन, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, मानव बेचबिखन तथा ओसारपसार, बालश्रम, आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप सम्बन्धी ऐन तथा कर्मचारी सञ्चयकोष ऐन संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो। यस्तै, मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद् बैठकको निर्णय

१ देहायका विधेयकहरू संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने
(क) संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक
(ख) खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
(ग) सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
(घ) राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
(ङ) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक
(च) बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधयेक
(छ) आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
(ज) मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक
(झ) कर्मचारी संचयकोष ऐन, २०१९ लाई संसोधन गर्न बनेको विधेयक
२ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने ।
३ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
४ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा श्री खेट राज दाहाल, सिन्धुलीलाई मनोनयन गर्ने।
५ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।