काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ सेवा सुरु गरेको छ।
यस सेवाअन्तर्गत नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। बैंकका अनुसार आवश्यक क्यूआर कोड नागरिक एपमार्फत उपलब्ध गराइएको लिंकबाट प्राप्त गर्न सकिनेछ।
नेपालमै पहिलोपटक सुरु गरिएको यस सुविधामार्फत १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाइसकेका तथा नागरिक एपमा आबद्ध नागरिकहरूले घरबाटै अनलाइन प्रक्रिया पूरा गरेर खाता खोल्न सक्नेछन्।
बैंकले खाता खोल्ने क्रममा ग्राहकको पूर्वसहमतिमा नागरिक एपबाट आवश्यक व्यक्तिगत विवरण सुरक्षित रूपमा प्राप्त गर्ने जनाएको छ। यसले विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षासमेत सुनिश्चित हुने बैंकको विश्वास छ।
यद्यपि, नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालनमा ल्याउन ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा उपस्थित भई वा भिडियो केवाईसी ९प्थ्ऋ० मार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंक आधुनिक प्रविधि र ग्राहक सेवाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान प्राप्त गर्दै आएको बैंक हो। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरिसकेको छ। साथै, युरोमनी अवार्ड फर एक्सलेन्स, बेस्ट बैंक ईएसजी नेपाल र बेस्ट इम्प्लोयरलगायतका विभिन्न अन्तर्राष्ट्रिय सम्मानसमेत हात पारिसकेको छ।
हाल ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ।








About Us
प्रतिक्रिया