संगठित बन्दै कर्णाली विकास बैंकका निक्षेपकर्ता, गठन गरे संघर्ष समिति


काठमाडौं – कर्णाली विकास बैंकका निक्षेपकर्ताले संघर्ष समिति गठन गर्ने भएका छन्। ३ जिल्लामा फैलिएका कर्णाली विकास बैंकका प्रत्येक १९ शाखासहित र केन्द्रीय संघर्ष समिति गठन गर्ने भएका हुन्।

यसका लागि उनीहरूले साउन ५ गते कर्णाली विकास बैंक पीडित संघर्ष समितिको परिकल्पना नै गरिसकेका छन्। यद्यपि, अन्तिम टुङ्गो लगाउन भने बाँकी छ। संघर्ष समिति मूख्यगरी दुई तहका हुनेछन्। कर्णाली विकास बैंक पीडित संघर्ष समिति नामक केन्द्रीय समिति हुनेछ भने यसैको तल्लो तहका रुपमा १९ वटै शाखामा समिति हुनेछन्।

दबाब दिने क्रममा विविध चुनौतीहरू आएपछि उनीहरूले समिति गठन गरेर नै अघि बढ्न लागेको निर्मल बस्नेतले बैंकिङ्ग समाचारलाई जानकारी दिए। संगठित बनेर दबाब दिँदा आफुहरुको माग सुनुवाइ हुने अपेक्षा उनीहरूको छ।

४ अर्ब बढी निक्षेप कर्णालीमा बन्धक बनेपछि निक्षेपकर्ताले आन्दोलन नै सुरु गरेका हुन्। कर्णाली डेभलपमेन्ट बैंक संघर्ष समिति गठनको केन्द्रीय कार्यालय नेपालगन्जमा रहनेछ।

कर्णाली विकास बैंक घोटाला हुँदा निक्षेपकर्ताको अर्बौँ रकम बैंकमा नै बन्धक बनेको छ। केन्द्रीय बैंकले व्यवस्थापन सम्हालेको लामो समय बित्दा पनि निक्षेप फिर्ता, पुनर्संरचना गर्ने विषयका ध्यान नदिएको उनीहरूको गुनासो छ।

आन्दोलनमा होमिएका निक्षेपकर्ताले रगत पसिना मेहनत र रेमिटेन्सको पैसा फिर्ता गर्नुपर्ने उनीहरूको माग छ। केन्द्रीय र स्थानीय स्तरको संघर्ष समितिले एकीकृतरुपमा आन्दोलनका कार्यक्रमहरू गर्ने र नेपाल राष्ट्र बैंकलाई दबाब दिने गरी अघि बढेको बताइएको छ।