बैंकिङ्ग डिस्कोर्श २०२६

गाउँमा बाँदरको राज, सहरमा रेमिट्यान्स विलासिता: कसरी उकासिएला कृषि अर्थतन्त्र ?


अहिले कृषि क्षेत्रमा सबैको चासो कम भएको अवस्था छ। ६२ प्रतिशत परिवार कृषिमा आबद्ध छन् र उनीहरूले यसैमा काम गर्छन् भन्ने तथ्यांक पनि छ। तर, यो ६२ प्रतिशतभित्रै पसेर मसिनो गरी हेर्ने हो भने हामीले अर्कै यथार्थ पाउन सक्छौँ। कृषि वा कृषक परिवार भन्नाले खेतीपाती गर्ने र पशुपालन गर्ने दुवै हुन सक्छन्। यी दुवै काम गर्ने तर चार आना पनि जग्गा नहुने वा त्योभन्दा कम जमिन हुने साना कृषकहरूको सङ्ख्या मात्रै करिब ४९ प्रतिशतको हाराहारीमा छ। यसले के देखाउँछ भने हाम्रो देशमा ठुला कृषकहरू निकै कम छन्।

हाम्रो तथ्याङ्कमा हामीले दुई किसिमले विवरण राख्दै आएका छौँ। अहिले जग्गा खण्डीकृत हुँदै गएको अवस्था छ। आजभन्दा १० वर्ष अगाडि ३६ लाख घरपरिवार कृषिमा आबद्ध थिए भने अहिले त्यो सङ्ख्या बढेर ४२ लाखको हाराहारीमा पुगेको छ। जग्गाजमिन त्यति नै हो, खेतीयोग्य जमिन थपिएको छैन। तर, कृषिमा आबद्ध हुने घरपरिवारको सङ्ख्या भने १० वर्षमा ५ लाख जतिले बढेको देखिन्छ। यसले कृषियोग्य भूमि खण्डीकृत रूपमा अगाडि बढेको प्रस्ट पार्छ। अहिले देशमा २५ लाख हेक्टर जग्गा खेतीयोग्य छ। यस अवस्थालाई हेर्ने हो भने हाम्रो कृषि प्रणालीलाई व्यवस्थित गर्न सकिने प्रशस्त ठाउँहरू अझै छन्। हामी कुखुरा र अण्डा उत्पादनमा आत्मनिर्भर भइसकेका छौँ भने दूधमा पनि आत्मनिर्भर हुने अवस्थामा पुगेका छौँ।

तर, अर्को तितो यथार्थ के हो भने हाम्रा युवाहरू कृषिमा आकर्षित छैनन्। खेतीपातीमा अहिले ज्येष्ठ नागरिकहरूको बाहुल्यता देखिन्छ र प्राथमिक तहसम्म मात्र अध्ययन गरेका व्यक्तिहरू यसमा बढी संलग्न छन्। अहिले देशबाट युवाहरू बिदेसिने जुन अवस्था छ, त्यसले गर्दा गाउँघरमा महिला कृषकहरूको सङ्ख्या बढेको छ। हाल ३२ प्रतिशत महिलाहरू कृषिमा आबद्ध रहेको तथ्याङ्कले देखिन्छ, जबकि १० वर्ष अगाडि यो सङ्ख्या मात्र १९ प्रतिशत रहेको थियो। यस तथ्याङ्कलाई केलाएर हेर्दा व्यावसायिक रूपमा काम गर्ने ठुला कृषकहरू जम्मा २ लाख मात्र छन्। एकातिर कुल सङ्ख्या ४१–४२ लाख भनिएको छ भने अर्कोतिर ठुला कृषक २ लाख मात्र हुनुले हामी कुन अवस्थामा छौँ भन्ने देखाउँछ। त्यसैले यी २ लाख किसानलाई कसरी व्यवसायीकरण र विविधीकरण गर्न सकिन्छ भनेर अब गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था आएको छ।

हामीले उत्पादनमा विशेष जोड दिँदै आएका छौँ र जग्गा खण्डीकृत भए तापनि उत्पादन केही बढेको नै छ। तर, यसलाई अझै बढाउन के–कस्ता कामहरू गर्न सकिन्छ भनेर बुझ्न आवश्यक छ। हाम्रोमा उत्पादन लागत बढी र उत्पादकत्व कम भएका कारण पनि कृषिमा लगानीको जोखिम अलि बढी देखिएको हो। यस्तो अवस्थामा हामीले कृषकको बजार र उनीहरूको उत्पादनले पाउने उचित मूल्यका बारेमा पनि सोच्न आवश्यक छ। अहिलेको अवस्था कस्तो छ भने, कृषकले १०० रुपैयाँ आम्दानी गर्न ६८ रुपैयाँ त खर्च नै गर्नुपर्ने बाध्यता छ।

अहिले युवाहरू बाहिर जाने क्रम बढ्दो छ र गाउँ खाली हुने क्रम अझै पनि पछि हटेको छैन। युवाहरू नहुँदा गाउँ गाउँसम्म बाँदरले दुःख दिन थालेको छ। युवाहरू बिदेसिएपछि देशमा रेमिट्यान्स त अत्यधिक मात्रामा भित्रिएको छ, तर प्रश्न उठ्छ। हामीले सो रेमिट्यान्सलाई के मा प्रयोग गरिरहेका छौँ त ? हामीले रेमिट्यान्सलाई कृषिको व्यवसायीकरण गर्न प्रयोग गरेकै छैनौँ कि जस्तो देखिन्छ। किनभने, भित्रिएको रेमिट्यान्सको झन्डै ८० प्रतिशत हिस्सा उपभोग र विलासिताका वस्तु खरिदमा खर्च भइरहेको छ।

अहिले ६२ प्रतिशत जनसङ्ख्या कृषिमा आबद्ध छन्। यसमा दक्ष जनशक्ति ५० प्रतिशतभन्दा बढी छन् भन्ने तथ्याङ्कले देखाउँछ । यसले के प्रमाणित गर्छ भने अझै पनि कृषि क्षेत्रमा धेरै अवसरहरू बाँकी छन्। यस्तो अवस्थामा कृषि क्षेत्रको विकास र लगानीका लागि बैङ्गिक क्षेत्रले पनि विशेष चासो राख्नुपर्ने हुन्छ। अहिले कृषकहरूले उत्पादन गरेका विभिन्न उपजहरूको मूल्य सूचकाङ्क एकैनासको छैन। कृषकको लागत अनुसारको उत्पादन र बजार भए–नभएको राम्रोसँग बुझेर बैंक र निजी क्षेत्रले यस क्षेत्रमा सुरक्षित र प्रतिफलमुखी लगानी बढाउन सक्छन्।

(राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता लामिछानेले बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’मा राखेको धारणाको सम्पादित अंश)