काठमाडौं – स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) भिसाको ग्लोबल रजिस्ट्री अफ सर्भिस प्रोभाइडर्समा आधिकारिक रूपमा अनुमोदित एक्सेस कन्ट्रोल सर्भर सेवा प्रदायकका रूपमा सूचीकृत भएको छ। पीसीआई प्रमाणित थ्री–डी सेक्योर प्रणाली सफलतापूर्वक कार्यान्वयन गरेपछि एससीटीले यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।
भिसाले निर्धारण गरेका कडा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गर्दै एससीटीले कार्डमा आधारित डिजिटल कारोबारका लागि सुरक्षित प्रमाणीकरण सेवा प्रदान गर्न सक्षम रहेको पुष्टि भएको कम्पनीले जनाएको छ। यस उपलब्धिलाई नेपालको भुक्तानी सुरक्षा पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
हालसम्म प्रमाणित एसीएस सेवा लिन बैंक तथा वित्तीय संस्थाहरूले मुख्यतः विदेशी सेवा प्रदायकहरूमाथि निर्भर रहनुपर्ने अवस्था थियो। यस क्रममा संवेदनशील प्रमाणीकरणसम्बन्धी डेटा नेपाल बाहिर प्रशोधन तथा होस्टिङ गर्नुपर्ने बाध्यता समेत रहँदै आएको थियो। अब भने नेपाली बैंक तथा वित्तीय संस्थाहरूले स्वदेशमै व्यवस्थापन हुने, अन्तर्राष्ट्रिय रूपमा प्रमाणित एसीएस सेवा उपयोग गर्न सक्ने भएका छन्।
यसले संस्थाहरूलाई थप सञ्चालन नियन्त्रण, डेटा सुरक्षामा मजबुती तथा डेटा सार्वभौमिकता सम्बन्धी उद्देश्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एससीटीको यो उपलब्धिले नेपाललाई विश्वव्यापी भुक्तानी प्रणालीको एक सक्रिय योगदानकर्ताका रूपमा समेत स्थापित गरेको छ। कम्पनीका अनुसार एससीटीको एसीएस सेवा केवल नेपालभित्रका संस्थाहरूका लागि मात्र नभई विश्वभर रहेका भिसा सदस्य संस्थाहरूले समेत प्रयोग गर्न सक्नेछन्।
यस उपलब्धिले नेपालको डिजिटल वित्तीय पूर्वाधारको निरन्तर विकासलाई प्रतिबिम्बित गर्नुका साथै स्वदेशी प्रविधि कम्पनीहरूले सुरक्षा, विश्वसनीयता र नवप्रवर्तनका उच्चतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको संकेत गरेको छ। एससीटीको यो सफलताले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, आत्मनिर्भर र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।





About Us
प्रतिक्रिया