बैंकिङ्ग क्षेत्र अर्थतन्त्रको एउटा हिस्सा मात्र नभई सम्पूर्ण आर्थिक गतिविधिको आधार होः सीईओ चापागाईं


काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बैंकिङ्ग क्षेत्र अर्थतन्त्रको एउटा हिस्सा मात्र नभई सम्पूर्ण आर्थिक गतिविधिको आधार भएको बताएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्युजको संयुक्त आयोजनामा सञ्चालित चौथो बैंकिङ्ग डिस्कोर्श २०२६ लाई सम्बोधन गर्दै उनले सो बताएका हुन्।

उनले नेपाल आर्थिक रूपान्तरणको यात्रामा रहेका बताए। उनले भने, ‘हामी डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेका छौं। लगानी वृद्धि, उत्पादन विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका लागि प्रयत्नशील छौं। यस्तो समयमा यस्ता कार्यक्रमको महत्व झन् बढ्दै जान्छ। वास्तवमा कुनै एक संस्था, कुनै एक नियामक वा कुनै एक क्षेत्र सबै कुराको समाधानको स्रोत हुदैन। तर, जब बैंकिङ्ग क्षेत्र, पुँजीबजार र यसमा आबद्ध संस्थाहरू एउटै मञ्चमा आउँछन्, तब सामूहिक छलफल र बहसबाट समाधानका नयाँ ढोका खुल्न थाल्छन्।’

उनले भने, ‘आजको विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल करेन्सी, साइबर सेक्युरिटी, डेटा सेन्टरलगायतका विषयहरूले वित्तीय क्षेत्रको स्वरूप नै परिवर्तन गरिरहेका छन्। हामीले पनि समय अनुसार परिवर्तन हुन जरुरी छ। यस्ता परिवर्तनहरूलाई सामना गर्न ज्ञान र अनुभव मात्र पर्याप्त नहुन सक्छ। निरन्तरको संवाद, छलफल तथा बहस पनि उत्तिकै आवश्यक हुन्छ। त्यसैले, यस्ता कार्यक्रमहरू वर्तमानको समीक्षा गर्नका साथै भविष्यको तयारी गर्न पनि अत्यन्त उपयोगी हुन्छन्।’