काठमाडौं – नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सरोकारवालासँग छलफल गरेर मात्रै नीतिगत व्यवस्था तर्जुमा गर्नुपर्ने बताएका छन्। उनले जेठ २७ गते बुधबार काठमाडौंको म्यारियट होटलमा आयोजित चौथो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२६ मा यस्तो बताएका हुन्।
अध्यक्ष कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा सरकारले पुस मसान्तसम्मको मिति नै तोकेर विशेष कानुनी अधिकारसहितको एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने घोषणाको तारिफ गरे। यद्यपि यस्तो नीतिगत व्यवस्था गर्दा सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष कोइरालाले भने, ‘एसेट म्यानेजमेन्ट कम्पनी पुस मसान्तसम्म मिति नै तोकेर बजेटमा आएको छ। विशेष कानुनी अधिकार हुने भएकाले सरोकारवालासँग पर्याप्त छलफल हुनु आवश्यक छ। हेडलाइन तोकेर आएको विषय भने सराहनीय छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र बैंकिङ्ग कसुर सम्बन्धी ऐन परिमार्जन गर्ने विषय आएको छ। यसमा सम्बन्धित सबै सरोकारवालासँग पर्याप्त छलफल गर्यो भने सबैलाई सहज हुनेछ।’
अध्यक्ष कोइरालाका अनुसार पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा ८० खर्बको निक्षेप परिचालन गरेर ५९ खर्बको मात्रै कर्जा प्रवाह भइरहेको छ। उनले भने, ‘देशको बाह्य क्षेत्र बलियो छ। फरेक्स रिजर्भ अहिलेसम्मकै उच्च छ। अरू सूचक पनि सकारात्मक छ। चुनौती पनि छ। १३ खर्ब अधिक तरलता छ। क्रेडिटको ग्रोथको लक्ष्यको एक तिहाइ मात्रै छ। यति हुँदाहुँदै स्थिर सरकार छ।’
उनले बजेट आइसकेको र आगामी मौद्रिक नीति पनि आउने क्रममा रहेकाले यसमा पनि पर्याप्त छलफल हुनुपर्ने बताए । उनले भने, ‘आगामी मौद्रिक नीतिमा बैंकर र ऋणीलाई ब्रिदिङ स्पेस आवश्यक छ। आयात र निर्यातको ग्याप ठूलो छ। यसलाई व्यवस्थापन गर्नुपर्ने छ।’








About Us
प्रतिक्रिया