बजेटमा माग सम्बोधन नभएको भन्दै अनुदान शिक्षकको प्रदर्शन (तस्बिर)


काठमाडौं – संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटमा आफ्ना मागहरू सम्बोधन नगरिएको भन्दै विरोध प्रदर्शन गरेको छ। लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधासम्बन्धी माग उठाउँदै आएका शिक्षकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनमा सहभागी शिक्षकहरूले २०७८, २०८० र २०८२ सालमा सरकारसँग भएका विभिन्न सहमति तथा संघीय शिक्षा ऐनको निर्णयार्थ पेश गरिएको मस्यौदामा उल्लेख व्यवस्थापनसम्बन्धी प्रावधानहरू कार्यान्वयन नगरी बेवास्ता गरिएको आरोप लगाए। उनीहरूले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै सरकार अनुदान शिक्षकका मागप्रति उदासीन रहेको बताएका छन्।

समितिका अनुसार देशभर करिब ११ हजार संघीय शिक्षण सिकाइ अनुदान शिक्षकहरूले माध्यमिक तथा आधारभूत तहमा अंग्रेजी, गणित र विज्ञानजस्ता विषय अध्यापन गर्दै आएका छन्। बजेट वक्तव्यमा सम्मानजनक तलबवृद्धि, महँगी भत्ता तथा प्रोत्साहन भत्तालगायतका माग स्पष्ट रूपमा समावेश नगरिएको भन्दै शिक्षकहरूले विरोध जनाएका हुन्।

माग सम्बोधन नभए पठनपाठन ठप्प पार्ने तथा सामूहिक राजीनामासमेत दिन बाध्य हुने चेतावनी शिक्षकहरूले दिएका छन्।यसअघि उनीहरूले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा विद्यालय पोसाक, परिचयपत्र, नियुक्तिपत्र, विशेष नियुक्तिपत्र तथा मार्कर पेनसहित प्रदर्शन गरेका थिए। समितिले सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै पेशागत सुरक्षा र सेवा–सुविधाको सुनिश्चितता गर्न माग गरेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Skip This