काठमाडौं – नेपाल व्यवस्थापन सङ्घ (म्यान)ले २०८३/८४ को बजेट वक्तव्यपछिको विश्लेषण तथा मौद्रिक नीति अघिको छलफल कार्यक्रम आयोजना गरेको छ। बजेटको प्रभावकारी कार्यसम्पादन र सन्तुलित मौद्रिक नीति मार्फत नतिजामुखी आर्थिक विकासमा जोड नारा दिइएको कार्यक्रम सङ्घका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित रहेका थिए।
कार्यक्रमको पहिलो सत्रमा आर्थिक नीति, संरचनात्मक सुधार र श्रोत परिचालन विषयमा छलफल भएको थियो जसमा सङ्घका सदस्य जीवन कुमार कटुलालले स्वागत मन्तव्य राखेका थिए। सङ्घका द्धितिय उपाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गरेका कार्यक्रममा पूर्व अर्थमन्त्रीहरू डा. प्रकाश शरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र प्रतिनिधि सभा सदस्य लीमा अधिकारीले प्यानलमा सहभागी भई आफ्ना सुझावहरू राखेका थिए।
त्यसैगरी, आगामी मौद्रिक नीतिको दिशा र दृष्टिकोण नाम दिइएको दोस्रो सत्रमा सङ्घका महासचिव इन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रपछि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापा र पूर्व बैंकर अनलराज भट्टराईले आ-आफ्ना सुझाव राखेका थिए।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै सङ्घका अध्यक्ष हेमा कुमारी अधिकारीले प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरू तथा सहभागीहरूबाट सङ्कलित सुझावहरू सबैलाई समेटेर आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक निर्माणको लागि सङ्कलित सुझावहरू नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई बुझाइने जानकारी दिइन्।
नेपाल व्यवस्थापन संघले सरकारले मौद्रिक नीति सार्वजनिक हुनु पूर्व यो कार्यक्रम गर्दै आएको छ। सरकार तथा नेपाल राष्ट्र बैंकलाई सबै सरोकारवालाहरूको सल्लाह, सुझाव पुर्याई एउटा प्रभावकारी मौद्रिक नीति ल्याउन मद्दत पुर्याउने हेतुले आयोजना गरिएको यो कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको संघले जनाएको छ।






About Us
प्रतिक्रिया