पूर्णपाठसहितः

‘बजेट कार्यान्वयनमा निजी क्षेत्रले ‘बजेट वाच’ पहलमार्फत रचनात्मक सहयोग र निगरानीको भूमिका निर्वाह गर्छ’


काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेट कार्यान्वयनमा निजी क्षेत्रले विगतझैँ ‘बजेट वाच’ पहलमार्फत रचनात्मक सहयोग र निगरानीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।नेपाल उद्योग परिसंघको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले साे बताएका हुन्।

अध्यक्ष पाण्डेले उद्योग–व्यवसायीमाथि आर्थिक कसुरको आरोप लाग्दा अनुसन्धानकै क्रममा थुनामा राख्ने विद्यमान परिपाटी अन्त्य गर्न सरकारसँग माग गरेका छन्। उनले पर्याप्त तथ्य परीक्षणबिना गरिने पक्राउले निजी क्षेत्रको मनोबल घटाउने, लगानीको वातावरण प्रभावित पार्ने तथा व्यवसाय विस्तारमा नकारात्मक असर पार्ने भएकाले त्यस्तो परिपाटीको अन्त्य गर्न माग गरेका हुन्।

पाण्डेले आर्थिक कसुरका घटनामा थुनाभन्दा आर्थिक जरिवानालाई प्राथमिकता दिनुपर्ने बताए। अनुसन्धानका क्रममा हुने पक्राउको अभ्यासले उद्योगी–व्यवसायीमा असुरक्षाको भावना बढाउने र लगानीमैत्री वातावरण निर्माणमा बाधा पु¥याउने उनको भनाइ छ।

भारत लगायत विभिन्न मुलुकमा आर्थिक कसुरका घटनामा थुनाभन्दा आर्थिक जरिवानालाई प्राथमिकता दिने अभ्यास रहेको उल्लेख गर्दै नेपालमा पनि कर्पोरेट कानूनलाई क्रमशः डिक्रिमिनलाइज गरी आर्थिक कसुरमा जरिवाना केन्द्रित व्यवस्था लागू गर्नुपर्ने उनले बताए।

यस सम्बन्धमा परिसंघले विस्तृत अध्ययनसहितका सुझाव नेपाल सरकारलाई बुझाइसकेको उनले जानकारी दिए। अध्यक्ष पाण्डेले त्रुटी र बदनियतबीच स्पष्ट भिन्नता छुट्याएर निष्पक्ष तथा न्यायोचित प्रक्रिया अपनाउन सरकारसँग आग्रह गरे।

उनले नेपाल उद्योग परिसंघले लामो समयदेखि उठाउँदै आएको अग्रिम जमानतसम्बन्धी व्यवस्था लागू गर्न सरकारसँग माग गरे। उनकाअनुसार यस्तो व्यवस्था निजी क्षेत्रका लागि मात्र नभई आम नागरिकको हितमा समेत महत्त्वपूर्ण हुनेछ। अध्यक्ष पाण्डेले बजेटले लक्ष्य लिएको ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न, लगानी प्रवर्धन गर्न तथा अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए।