ट्राफिक प्रहरी प्रमुखमा एसएसपी सुरेश काफ्ले नियुक्त 


काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सुरेश काफ्ले नियुक्त भएका छन् । गृह मन्त्रालयले तीन दिनअघि गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवामध्ये उपत्यका ट्राफिक प्रहरी कार्यालयको सरुवा निर्णय संशोधन गर्दै एसएसपी सुरेश काफ्लेलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ। 

यसअघि १८ जेठमा गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्णयअनुसार एसएसपी शान्तिराज कोइरालालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको थियो।  तर, उनको सरुवा मापदण्ड विपरीत भएको भन्दै आलोचना भएपछि मन्त्रालयले सरुवा सच्याएको हो । 

उनको ठाउँमा अहिले एसएसपी सुरेश काफ्लेलाई पठाइएको छ । यसअघि काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दिलिप घिमिरे, ललितपुरमा एसएसपी तुलबहादुर कार्की, लागुऔषध नियन्त्रण ब्युरोमा सुवासचन्द्र बोहोराको सरुवा भएको थियो । 
त्यसैगरी, मानव बेचबिखन अनुसन्धान ब्युरोमा एसएसपी नकुल पोखरेल सरुवा भएका थिए।