काठमाडौं उपत्यकाका तीन सुरक्षा निकायका प्रमुख फेरिए


काठमाडौं –  जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुखहरू फेरिएका छन्।   

काठमाडौंमा रमेश थापाको ठाउँमा दिलिप घिमिरे आएका छन्। थापा मधेश प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा काज सरुवा भएका छन्। घिमिरे नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत छन्। 

त्यस्तै, ललितपुरमा होविन्द्र बोगटीको ठाउँमा तुल बहादुर कार्की आएका छन्। बोगटी नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल, काठमाडौंमा सरुवा भएका छन्। कार्की यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धानमहाशाखा पोखरा, कास्कीमा थिए। 

साथै,  काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नवराज अधिकारीको ठाउँमा शान्तिराज कोइराला आएका छन्। अधिकारी साइबर ब्युरो भोटाहिटी, काठमाडौंमा काज सरुवा भएका छन्। कोइराला यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज, पर्सामा कार्यरत थिए।