बुटवल – नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा विवाद र अतिक्रमण सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। काँग्रेसको ‘जरा अभियान’ अन्तर्गत रुपन्देहीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको पछिल्लो भनाइलाई राजनीतिक सुझबुझको अभाव र ऐतिहासिक तथ्यहरूको अपमान भएको टिप्पणी गरे। उनले सीमावर्ती क्षेत्रमा हुने अतिक्रमण, क्रस बोर्डर अकुपेसन तथा सीमा विवादजस्ता संवेदनशील विषयमा तथ्य, प्रमाण र दस्तावेजबिनै प्रधानमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाए।
‘तथ्य, प्रमाण र दस्ताबेज बिना प्रधानमन्त्रीले यस्तो बोल्नु राष्ट्रहित विपरीत छ,’ थापाले भने, ‘२०७४ सालमा सबै दलको सहमतिमा संसद्बाट पारित नेपालको नक्सा र त्यसका आधारहरूलाई बेवास्ता गर्नु राष्ट्र हित विपरीत कार्य हो।’ सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाएको र नेपाली नागरिकको आत्मसम्मानमा चोट पुगेको दाबी गरे। उनले उक्त अभिव्यक्तिलाई ‘राष्ट्रिय लज्जाको विषय भन्दै प्रधानमन्त्रीले संसद्मा उपस्थित भई आफ्नो भनाइप्रति स्पष्टीकरण दिनुका साथै जनतासँग माफी माग्नुपर्ने माग गरे।
सभामा बोल्दै थापाले सत्ता साझेदार दलहरू, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्नुको सट्टा समर्थन जनाएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले प्रतिपक्षको दायित्व सरकारलाई खबरदारी गर्ने र जनताका सरोकारका विषयमा प्रश्न उठाउने भएको उल्लेख गर्दै नेपाली काँग्रेस आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए।काँग्रेसको ‘जरा अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा थापाले राष्ट्रिय हित, सीमा सुरक्षा र लोकतान्त्रिक उत्तरदायित्वका विषयमा सरकारको भूमिका थप जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका थिए।






About Us
प्रतिक्रिया