काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका– ११ डाँडागाउँ स्थित एक घरबाट कोही नभएको मौका छोपी सुनका गरगहना, नगद पैसा लगायतका धनमाल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको मानेभञ्ज्याङकी दिपा मगर, चितवनको भरतपुरका किशोर थापा र तेह्रथुमको आठराईका कृष्ण प्रसाद गहतराज रहेका छन् ।
उनीहरूले बालाजु एरियामा रहेका विभिन्न मानिसहरूको घर कोठाबाट नगद तथा सुनका गरगहना लगायतका धनमाल चोरी गर्ने एवम् चोरी गरेका गरगहनालाई स्वरूप परिवर्तन गरी बेचबिखन गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,मगरले चोरीका गरगहना स्वरूप परिवर्तन गरी बेच्ने , थापाले चोरीका गरगहना बेचबिखन गर्ने र गहतराजले खरिद गर्ने एवम् सुनका गरगहनाको बिल बनाइदिनुका साथै स्वरूप परिवर्तन गर्ने गरेका थिए ।
उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले चोरीका धनमालहरूसहित पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको जनाएको छ । साथै, मगरलाई लागु औषध कसुर मुद्दामा प्रहरी वृत्त स्वयम्भूको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
प्रहरीले उनीहरूको साथबाट १ लाख ५० हजार रुपैयाँ, चोरी गर्दा ढोका, दराज फोड्न प्रयोग हुने औजारहरू, विभिन्न कम्पनीका मोबाइल फोन ३ थान बरामद गरेको छ ।






About Us
प्रतिक्रिया