प्रधानमन्त्री बालेनले नबोलेको विवादका बीच बजेट आउँदै, के छ विपक्षी दलको योजना ?


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्‌मा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने मागसहित विपक्षीहरूको अवरोधले संसद् बैठक सकसपूर्ण ढंगले चलिरहेको छ। संवैधानिक बाध्यताका कारण १५ जेठमा बजेट ल्याउनुपर्ने भएकाले, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीहरूका सुझाव र नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूलाई बजेटमा समेट्ने आश्वासन दिएर गतिरोध अन्त्यको प्रयास गरेका थिए।

विपक्षीहरूले निरन्तर अवरोध गरेपछि रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले सातादिनभित्र प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने जानकारी गराएका थिए। त्यसपछि विपक्षी दलले सभामुखलाई रुलिङका लागि आग्रह गरेका थिए।  

बजेट छलफलमा विपक्षीहरू भूमिका कस्तो रहन्छ भन्ने चासो बढिरहेको छ । विरोधको अग्रपङ्क्तिमा रहने श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले फेसबुकबाटै आफ्नो सुझाव कार्यान्वयनसहितको बजेट ल्याउन आग्रह गर्दै शुभकामना दिइसकेका छन्। 

वैशाख २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बीचमै निस्किएर हिँडेका प्रधानमन्त्री त्यसयता सदन गएका छैनन्। प्रधानमन्त्री उपस्थित भई संसद्‌लाई जबाफदेही नबनाएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको साझा निर्णय राख्दै आएका छन्।विपक्षीहरूको निरन्तरको नाराबाजी र अवरोधका बीच सभामुखले नियमित कार्यसूची अघि बढाउन खोज्दा सदनमा सत्तापक्ष र प्रतिपक्षबीच बारम्बार भनाभन र तनावको स्थिति सिर्जना हुँदै आएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा विपक्षी दलहरूको चुनावी घोषणापत्र र संसद्‌मा उठाइएका सुझावहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाइसकेका छन्। यद्यपि, शुक्रबार सार्वजनिक हुने बजेट र आजको प्रधानमन्त्रीको उपस्थितिले विपक्षीको आगामी गतिविधि निर्धारण हुने देखिएको छ।