ग्रिस र क्रोएशिया पठाइदिन्छु भन्दै ११ लाख ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– ८ बस्ने सोही महानगरपालिका– २१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका– १३ बस्ने धादिङ गल्छी गाउँपालिका– ३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन्।  पक्राउमध्ये गिरिसले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ र निलकण्ठले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

 काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गिरिसलाई काठमाडौं महानगरपालिका– २९ बाट र निलकण्ठलाई काठमाडौं महानगरपालिका– १३ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।