एनसेलको २५० वटा नयाँ टावर विस्तार, २२ सय साइटको क्षमता अभिवृद्धि

फोरजी नेटवर्कमा भयो थप सुधार


काठमाडौं – एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ। साथै २ हजार २०० वटा टावरहरुमा क्षमता अभिवृद्धि गरको छ। जसकारण ग्राहकहरूले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन्।

विश्वसनिय कनेक्टिभिटी एक सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनहरुसँग सधैं सम्पर्कमा रहन लागि अत्यावश्यक बन्दै गएको बेलामा यो फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको हो।

सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विषेशगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाईएको थियो।

प्रदेशगत रूपमा हेर्ने हो भने, एनसेलले कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानिय तहहरुमा टावर स्थापना गर्दै फोरजी सेवा दिइएको छ। सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत अन्य ठाउँहरुमा पनि टावरहरू स्थापना गरिएका छन्।

यसैगरी मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भिमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानहरुमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानियहरु उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन्।