द ब्रिटिश कलेजको स्पष्टिकरण ‘सबै शैक्षिक कार्यक्रम नियमित र सामान्य रूपमा सञ्चालन भइरहेका छन्’


काठमाडौं – द ब्रिटिश कलेज (द बीसी) ले हाल सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत प्रसारित केही भ्रामक र अपूर्ण सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। कलेजले ध्यानाकर्षण गर्दै प्रस्तुत गरिएका विषयवस्तुहरू वास्तविकतासँग मेल नखाने र सन्दर्भविहीन रहेकाे जनाएकाे हाे। साथै, हाल कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको पनि स्पष्ट पारेकाे छ।

कलेजद्वारा जारी आधिकारिक वक्तव्यमा सबै शैक्षिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेको र अधिकांश विद्यार्थीहरू कक्षामा सहभागिता जनाउँदै आफ्नो अध्ययनलाई सन्तोषजनक ढङ्गले अगाडि बढाइरहेको उल्लेख गरिएको छ। द ब्रिटिश कलेज नेपालमा ब्रिटिश एक्रेडिटेशन काउन्सिल (ब्रिटिश एक्रेडिटेशन काउन्सिल–बीएसी) बाट मान्यता प्राप्त एक मात्र कलेज भएको जनाउँदै, बेलायतका अन्तर्राष्ट्रिय रूपमा मान्य तथा उच्च श्रेणीका विश्वविद्यालयहरूसँग सहकार्य गर्दै शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको कलेजको भनाइ छ। 

कलेजले नेपाल तथा अन्तर्राष्ट्रियस्तरमा सफल स्नातक तथा विद्यार्थीहरूको ठुलो समुदायलाई वर्षौँदेखि सेवा दिँदै आएको जनाएको छ। कलेजले सामाजिक सञ्जालमार्फत गरिने आरोप वा विवादमा संलग्न नहुने स्पष्ट गर्दै सबै सरोकारवालालाई उपयुक्त, कानुनी तथा मर्यादित माध्यममार्फत आफ्ना विषयहरू उठाउन आग्रह गरेको छ। विद्यार्थी हित, शैक्षिक गुणस्तर र संस्थागत जिम्मेवारीप्रति कलेज प्रतिबद्ध रहेको उल्लेख गर्दै थप जानकारी आवश्यक परेमा कलेजका आधिकारिक सञ्चार माध्यमहरूबाट मात्र सूचना लिन अनुरोध गरेकाे छ।