बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार आज असोज १४ गतेसम्म कायम बैंकका शेयरधनीहरुले मात्र सभामा भाग लिन तथ बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न असोज २६ गते अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७७/०४/०१ देखि २०८०/०३/३१ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, बैंकको सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
प्रतिक्रिया