बैंकिङ्ग समाचार, काठमाडौं ।
चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारण लगानीकर्तामा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँड गरिसकेपछि अब सर्वसाधारणमा आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
यसअघि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो । जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँड भएको कम्पनीले जनाएको छ । त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असोज २६ गते हुनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ३ गतेसम्म लम्बिनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया