के बैंकहरुमा हाम्रो पैसा सुरक्षित छ त ? 

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 
विगत केही दिनअघि इटहरीस्थित एभरेष्ट बैंकको एक शाखामा ग्राहकको डेढ करोड रुपैयाँ चोरी भएको घटना चर्चामा छ। ३३ जना  बचतकर्ताको रकम हिनामिना भएको भन्दै प्रहरीले बैंकका त्यस शाखाका म्यानेजरसहित ७ जना कर्मचारीहरुलाई प्रक्राउ गरेको छ । कर्मचारीबाहेक बाँकी २ जनामाथि पनि अनुसन्धान अघि बढाएको प्रहरी बताउँछ । रकम हिनामिना भएको थाहा पाएपछि केही सेवाग्राहीले बैंकलाई खबर गरेका थिए। लगत्तै बैंकले प्रहरी कार्यालयमा आफ्नै कर्मचारीविरुद्ध जाहेरी दिएको बताइएको छ । सुनसरी प्रहरीका अनुसार बैंकले सेवाग्राहीको रकम पूर्ति गरिसकेको तर ठगीको आरोप लागेका सबैमाथि अनुसन्धान अझै जारी रहेको बताएको छ । 

यता एकजना बचतकर्ताले रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित माछापुच्छ्रे बैंकबाट आफ्नो ९ लाख रुपैयाँ चोरी भएको बताएका छन । रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले हालसम्म प्रहरीमा जाहेरी नदिइए पनि प्रहरी र बैंकसँगको समन्वयमा छानबिन अगाडि बढाइएको बताएका छन्। घटनामा बैंकका कर्मचारी वा अन्य जो कोहीको गल्ती देखिए सोहीअनुरूप कारबाही हुने र माछापुच्छ्रे बैंकका प्रमुख कार्यालयसँग र सम्बन्धित अधिकारीहरूबीच छलफल भइरहेको प्रजिअ मिश्रले जानकारी दिए । तर ग्राहकको ९ लाख रुपैयाँ स्वयंम उनकै मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न बैंकहरु र खल्ती एपमा ट्रान्सफर गरिएको देखिएको बैंकले जनाएको छ ।

‘बैंकको सिस्टममा केही समस्या नदेखिएको र बैंकबाट पठाइएको सम्पुर्ण एसएसमएस एक्टिभेसन कोड तथा ओटिपी ग्राहककै मोबाइलमा गएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा अनाधिकृत व्यक्तिको पहुँचमा नपुगी उक्त कारोबार नहुने देखिन्छ,’  बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैंकले यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध पनि गरिसकेको जनाएको छ ।

यी दुई घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालहरूमा विभिन्न सेवाग्राही/निक्षेपकर्ताहरूले बैंकमा रहेको बचत सुरक्षाबारे प्रश्नहरु उठाइरहेका छन । घटनालाई लिएर कतिपयले व्यङ्ग्यात्मक टिप्पणी पनि गरेका छन । तर नेपालका बैंकहरुको निक्षेप पूर्ण रुपमा सुरक्षित र हरेक सुंचाकका हिसाबले बैंक सुरक्षित रहेको बैंकरहरु बताउँछन । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको पैसा आजको दिनमा पूर्ण रुपमा सुरक्षित रहेको र यसमा सबैजना ढुक्क भए हुने दाबि गरे । उनले भने, ‘केही घटनाहरुमा कतिपयले आक्रोश पोखिरहेको हामीले देखिरहेका छौँ । तर यस्ता घटनाहरु ग्राहकहरुले प्रयोग गर्ने सेवाका बारेमा बुझाई कम हुन पनि सक्दछ । यद्यपी बैंकको निक्षेप सुरक्षाबारे चिन्तित हुन पर्दै पर्दैन ।’ 
पछिल्लो समय प्रविधिको दुरुपयोग या ह्याक गरेर रकम चोरी हुने घटना सतहमा आएका छन । यद्यपि त्यसरी नोक्सान भएको खण्डमा बैंक नै जिम्मेवार हुने उनले बताए । 

पछिल्लो समय बैंकबाटै ग्राकहरुलाई टेलिफोन गरेर कसैसँग पनि पासवर्ड, पिन वा ओटीपीलगायत विवरण नमागिएको केसी बताउँछन । उनी भन्छन, ‘बैंकबाटै चोरीको घटना सार्वजनिक हुँदा सेवाग्राहीले प्रणालीको सुरक्षामाथि प्रश्न गर्नु स्वाभाविक भए पनि आत्तिनु पर्दैन । बैंक पूर्ण रुपमा सुरक्षित छन ।’  
\"\"
बैंकबाटै भएका यस्ता घटनाप्रति छानबिनको लागि राष्ट्र बैंकले प्रतक्ष रुपमै सहयोग गरेको र नेपालको बैंकिङ्ग प्रणाली नै असुरक्षित  हुने सम्भावना एकदमै न्यून रहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोख्रेलको दाबी छ । उनी भन्छन, ‘देशमा बैंकहरुले  अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने प्रणाली सञ्चालनमा ल्याएका छन्। हामीले बैंकिङ्ग प्रणाली सुरक्षित राख्न पैसामा सम्झौता गरेका छैनौँ। गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरमा बलियो भनिएका प्रणाली प्रयोगमा ल्याएका छौँ त्यसैले नेपालका क, ख र ग वर्गका बैंकहरुका सेवाको गुणस्तर सुनिश्चित गर्न त्यस्तो प्रणालीमा जोड दिइरहेका छौँ ।
\"\"
डिजिटल प्रणालीको विस्तारसँगै यस्ता जोखिमहरु आउनु स्वभाविक रहेको बताउँदै उनले भने, ‘ नेपालको समग्र बैंकिङ्ग प्रणाली ह्याकिङको जोखिम कम भए पनि बेलाबखत बैंकबाटै रकम हिनामिना हुनुलाई मानवीय त्रुटि हो । बैंकबाट हुने रकम ठगीको घटना प्राविधिक कमजोरीका कारण नभई मानवीय त्रुटि वा योजनाबद्ध ढङ्गमा भएको पाइन्छ ।’  

निक्षेपकर्ताको रकम पूर्ति सम्बन्धित बैंककै जिम्मेवारी हुने सह प्रवक्ता पोख्रेलको भनाइ छ । त्यसैले बैैंककै कर्मचारीको कमजोरी या मिलेमतोमा रकम हिनामिना भएको खण्डमा त्यसको असर सम्बन्धित बैंकलाई नै पर्ने उनी बताउँछन ।