सम्पन्न भयो ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श २०२३’ 

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्स २०२३’ सम्पन्न भएको छ । बैंकिङ्ग समाचारले आयोजना गरेको उक्त कार्यक्रम मंगलबार काठमाडौंस्थीत सोल्टी होटलमा सम्पन्न भएको हो ।

‘चिर्दै अभूतपूर्व समस्याका चुनौतीहरू’ भन्ने नाराका साथ आयोजित बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ्ग डिस्कोर्स २०२३’ मा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा र इकोसिस्टमको डिजिटलाइजेसन, स्थीती र चुनौती, रेमिट्यान्सले धानेको अर्थतन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अह्म वित्तीय साक्षरताको अपरिहार्यता र स्थिती  मुख्य चार  शिर्षकमा छलफल भएको थियो ।
\"\"
नबिल बैंकद्धारा प्रायोजित उक्त कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यता रहेको थियो ।  ‘द नेशनल बैंकिङ्ग डिस्कोर्स २०२३’ को उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंकिङ्ग सेवालाई सुलभ बनाउनुपर्ने बताए । उनले वित्तीय पहुँच बढाउन तथा लगानीको लागत घटाउन बैंकिङ्ग सेवालाई सुलभ बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘बैंकिङ्ग क्षेत्रले आर्थिक रुपान्तरणमा ठूलो भूमिका खेलेको छ । अझ पहुँच बढाउन, साना उद्यमीलाई ऋणमा पहुँच बढाउन तथा व्यावसायिक लागत घटाउन सेवालाई अझ सुलभ बनाउनुपर्छ ।’ उनले बैंकिङ्ग सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै साना उद्यमीलाई समेत ऋणमा पहुँच बढाउन आग्रह गरे । 
\"\"
अर्थमन्त्री डा. महतले मौद्रिक नीतिको समीक्षाबाट पोलिसी रेट घट्ने आफ्नो अपेक्षा भएपनि प्राविधिक कारणले त्यो पूरा नभएको पनि बताएका छन् । 

कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले पछिल्लो समय धेरै सुधारका संकेत देखिएको बताएका छन् । ‘मौद्रिक नीतिको समीक्षाले पनि केही सहजता ल्याएको छ । ब्याजदर बिस्तारै घट्दै गएको छ । १३ प्रतिशतमाथि पुगेको ब्याजदर १२.८ प्रतिशतमा आइसकेको छ । अझै घट्ने छ,’ उनले भने, ‘आगामी दिनहरू निकै नै आशावादी हुने देखेका छौं ।’ उनले नेपालको बैंकिङ्ग क्षेत्र चुनौतीकाबीच अघि बढ्न तयार रहेको बताएका छन् ।
\"\"
यस्तै कार्यक्रममा विशिष्ट अतिथि गभर्नर महाप्रसाद अधिकारीले यस्तो वृहत कार्यक्रम आयोजना गरेकोमा बैंकिङ्ग समाचारलाई धन्यवाद दिए । साथै उनले बैंकिङ्ग क्षेत्रको हालको समस्या त्यती धेरै जटिल नभएको प्रतिक्रिया दिए । 

त्यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले वित्तीय पहुँचमा धेरै ठूलो विकास भएको दाबी गरे । उनले देशको विभिन्न दुर्गम भेगमा वाणिज्य बैंकहरू नै पुगिसकेको बताए । तर, वित्तीय साक्षरता भने बढाउन आवश्यक रहेको उनको भनाइ छ । पछिल्लो समय खराब कर्जा बढे पनि कर्जाको ब्याज उठाउन सक्ने अवस्था नरहेको बताउँदै उनले भने,  ‘ऋणीलाई फोन गर्दा आत्महत्या दुरुत्साहन मुद्दामा परिएला भनेर फोन गरेर कर्जा उठाउन सक्ने अवस्था छैन ।’